'अहिलेको खोपले नयाँ म्युटेटेड भाइरसविरुद्ध काम नगर्न सक्छ, त्यसैले जोगिऔं’

हिमाल खबर

काठमाडौँ

कोभिड–१९ महामारी नियन्त्रणका लागि १६ वैशाखदेखि पुनः उपत्यकासहित देशका प्रमुख शहरहरूमा निषेधाज्ञा जारी गरेको सरकार अहिले बल्ल संकट सँघारमा आइपुगेको र स्थिति नियन्त्रणबाहिर जानसक्ने जोखिम महशूस गर्दै छ। आखिर सरकार कहाँ चुक्यो? नागरिकले कहाँ बाटो बिराए? भारतको पूने विश्वविद्यालयबाट विद्यावारिधि गरेका त्रिभुवन विश्वविद्यालय, माइक्रोबायोलोजी केन्द्रीय विभागका पूर्वप्रमुखसमेत रहिसकेका प्राध्यापक डा. द्विजराज भट्ट सरकारले विज्ञानलाई विश्वास नगरेकै कारण आजको अवस्थामा आइपुगेको तर्क गर्छन्। खासगरी कोरोनाविरुद्धको खोप अभियानमा केन्द्रित रही भट्टसँगको कुराकानीको सार:

नेपालमा कोभिड–१९ विरुद्धको खोपको वितरणलाई तपाईंले कसरी हेरिरहनुभएको छ?

पहिलो चरणमा भारतबाट कोभिशिल्ड भ्याक्सिन प्राप्त गरेपछि जोखिमका आधारमा प्राथमिकतामा राखेर खोप वितरण गरिनु सरकारको सही रणनीति थियो। तर, मौज्दात नराखेका कारण लक्षित समूहलाई दोस्रो डोज दिन बिलम्ब भयो। 

भारतमै यसको आपूर्ति पर्याप्त नभएका कारण हामीले समयमा खोप पाउने परिस्थिति रहेन। अब यसमा सुधार आवश्यक छ। जुन ब्याचको खोप हामी प्राप्त गर्छौं, त्यसैबाट दुई डोजलाई पुग्नेगरी जोखिम समूह, लक्षित समूहको संख्या निर्धारण गराैं, पहिलो डोज दिऔं, दोस्रो डोजका लागि मौज्दात राखौं, लगभग १० प्रतिशत अतिरिक्त भायल समेत मौज्दात राखौं।

चीनबाट आएको भेरोसेल खोप हामीले लगाउँदै छौ। यो इन्एक्टिभेटेड भाइरल भ्याक्सिन हो, जुन परीक्षणकै चरणमा छ। यसलाई विश्व स्वास्थ्य संगठनले अझैसम्म मान्यता दिएको देखिँदैन। त्यसबाहेक यो सरकारले खरीद गरेको हो वा अनुदानमा आएको हो, वा तेस्रो चरणको परीक्षण गराउन, अनुसन्धान गर्न कुनै संस्थाले ल्याएको हो, यो खोप कुन समूह, उमेर समूह, कति जनालाई दिइएको छ, यसको आधिकारिक तथ्यांक सार्वजनिक गर्नु बेस होला। यसमा देखिने नकारात्मक प्रभावको तथ्यांक राख्ने काम कसरी, कुन निकायले गरिरहेको छ, सो पनि बताउनुपर्छ। समग्रमा कोभिडका भ्याक्सिनहरू परीक्षणकै क्रममा छन् भन्ने लाग्छ। हामीकहाँ मोडर्ना र फाइजरको एमआरएनए खोप उपलब्ध छैन, ल्याउन पहल गर्नुपर्छ। हाल उपलब्धमध्ये एमआरएनए खोप नै बढी प्रभावकारी देखिएको छ।

अब हरेक देशले भिन्नभिन्न प्रकारका भ्याक्सिन लगाउनुभन्दा एउटै खोप लगाउने अर्को चरणमा हामी जानुपर्छ। यसका लागि अफ्रिका, यूरोप, चीन, अमेरिका, दक्षिण एसिया भारतमा भ्याक्सिन उत्पादन गर्ने रणनीति बनाउनुपर्छ। यसमा खासगरी विश्व स्वास्थ्य संगठनले समन्वय गर्ने र अमेरिकाले प्रविधि हस्तान्तरणमा प्रमुख भूमिका खेल्नुपर्छ। अहिले जस्तो हरेक देशले आफ्नै देशमा भिन्न प्रकारका भ्याक्सिन बनाउने काम व्यावहारिक र उपयोगी छैन। यसले एकै प्रकारको इम्युनिटी प्राप्त हुने देखिँदैन ।
 

प्रकाशित मिति: : 2021-05-04 20:36:00

प्रतिकृया दिनुहोस्