नेतन्याहूलाई बहुमत सिद्ध गर्न मङ्गलबार मध्यरातसम्मको समयसीमा

इजरायलका प्रधानमन्त्री बेंजामिन नेतन्याहू माथि नयाँ गठबन्धन सरकार निर्माणका लागि मङ्गलबार मध्यरातको समयसीमा तोकिएसँगै इजरायलको राजनीतिमा तिब्र सरगर्मी शुरु भएको छ। 

प्रधानमन्त्री नेतन्याहूले बहुमत जुटाउन नसके १२ वर्षयता पहिलो पटक नेतन्याहूको दल लिकुड पार्टी सत्ता बाहिर पुग्नेछ। 

गत मार्च २३ यता प्रधानमन्त्री नेतन्याहूले संसदमा बहुमत हासिल गर्न सङ्घर्ष गरिरहेका छन्। दुई वर्षको अन्तरालमा चौथो पटक सम्पन्न संसदको चुनावबाट पनि कुनै पनि पार्टीलाई बहुमत प्राप्त भएको छैन। 

प्रधानमन्त्री नेतन्याहूलाई नयाँ सरकार गठन गरी संसदमा बहुमत सिद्ध गर्न इजरायली राष्ट्रपतिले चार हप्ताको समयावधि तोक्नु भएको थियो।

प्रधानमन्त्री नेतन्याहूले त्यसपछि आफ्ना विपक्षी र साना इस्लामिक अरब पार्टीसँग शृंखलाबद्ध छलफल गरे पनि कुनै सहमति जुट्न सकेको छैन। 

राष्ट्रपतिले प्रधानमन्त्री नेतन्याहूलाई दिएको समयसीमा आज मध्यराति समाप्त हुँदैछ। प्रधानमन्त्रीले बहुमत सिद्ध गर्न नसके राष्ट्रपति रुभेन रिभलिनले नयाँ कदम चाल्नु पर्नेछ।  

यद्यपी बहुमत सिद्ध गर्न नसके पनि नेतन्याहूको प्रधानमन्त्री पद गइहाल्ने छैन। राष्ट्रपति रिभलिनले नेतन्याहूलाई अरु दुई साताको समय दिन सक्नु हुनेछ। अथवा, राष्ट्रपतिले विपक्षीलाई सरकार बनाउन आमन्त्रण गर्न सक्नु हुनेछ र कुनै गठबन्धनमा सहमति नजुटे उहाँले संसदलाई नै निर्णय गर्न पठाउने छन्। 

राष्ट्रपतिले संसदलाई नै नयाँ प्रधानमन्त्री छनौटका लागि जिम्मा दिएको अवस्थामा संसदले नयाँ प्रधानमन्त्री चुन्नेछ। यदि सबै विकल्पहरु असफल भए फेरि संसदको चुनाव हुनेछ। 

गत मार्च २३ मा सम्पन्न चुनावमा नेतन्याहूको लिकुड पार्टी संसदमा सबैभन्दा बढी स्थान जितेर पहिलो दल बनेको थियो। लिकुड पार्टीले १२० सदस्यीय संसदमा ३० स्थान जितेको थियो। तर सरकार गठन गर्न कम्तीमा ६१ स्थान आवश्यक पर्दछ। एपी 

प्रकाशित मिति: : 2021-05-04 17:51:00

प्रतिकृया दिनुहोस्