फिल्म, जाँज, विज्ञापन, थिएटर सबैले उनलाई यथेष्ट काम, दाम र सम्मान दिइरहेकै बेला लुइलाई एउटा राष्ट्रिय अभियानको संगीत रचनाको अवसर आउँछ, जसले उनको प्रसिद्धिले शिखर चुम्छ। तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको अनेकतामा एकताको राष्ट्रिय सन्देशको परिकल्पना ‘लाइट अफ फ्रीडम’ र ‘मिले सुर मेरा तुम्हारा’ ले लुइलाई राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित गर्दछ। यतिबेलासम्म उनले ‘गडफादर अफ इन्डियन जाँज’ का रूपमा ख्याति बनाइसकेका हुन्छन्।
सन् ६० को दशकमा दार्जीलिङ र काठमाडौंमा बेग्लै खाले संगीतले उधुम मचाएको थियो। ठाउँ अलग भए पनि यी दुई ठाउँको सांगीतिक दुनियाँमा हलचल ल्याउने एउटै परिवारभित्रका थिए, त्यसमाथि पनि बाबु–छोरा।
बाबु–छोराको त्यो जुगलबन्दीले बेलायती उपनिवेशको एउटा केन्द्र दार्जीलिङमा हलचल ल्याउनु नौलो थिएन, तर परम्पराबाट बिस्तारै आधुनिकतातिर बामे सर्दै गरेको काठमाडौंमा यी बाबु–छोरा जोडीले जाँज भनिने पश्चिमेली संगीतको यस्तो जबर्जस्त झट्का दिए, विश्वको जाँज मानचित्रमा काठमाडौं पनि आफ्नो छुट्टै स्थान बनाउन सफल भयो।
संगीत आयातीत भए पनि ती बाबु–छोरा खाँटी नेपाली थिए, त्यसमाथि पनि पुस्तौंदेखि संगीत पेशा अँगाल्दै आएका। बाबु पुष्कलबहादुर बुढापिर्थी पाँचौं पुस्ताका संगीतज्ञ थिए। उनका पिता बखतबहादुर बुढापिर्थीलाई तत्कालीन श्री ३ महाराज वीरशमशेरबाट राष्ट्रधुन रचनाको निगाह भएको थियो।
बुढापिर्थीको धुनमा चक्रपाणि चालिसेले ‘श्रीमान् गम्भीर नेपाली’ को शब्द भरेपछि त्यो रचना राजतन्त्रको अन्त्यसम्म नेपालको राष्ट्रगान रह्यो। तर, बखतबहादुरका छोरा थरले मात्र नभएर रुचि र कर्मले पनि आफ्ना पूर्वजभन्दा अलग हुन गए। उनको रुचि पारम्परिक र लोक संगीतभन्दा पनि पश्चिमा र त्यसमा पनि खासगरी जाँज संगीततिर हुन थाल्यो।