निर्भीक रायमाझी
बुधबार दिउँसो त्रिवि शिक्षण अस्पतालको आइसीयू कक्षको बार्दलीमा एक जोडी अनुहार निकै उदास मुद्रामा थियो ।
बार्दलीको कुनामा ओछ्याइएको म्याटमा उनीहरू झोक्राएर बसिरहेका भेटिए ।
उनीहरू यसरी झोक्राएर बसेको आठ दिन बितिसकेको छ । कोरोना संक्रमित आमाको कुरूवा बनेर बसेका यी छोरी-ज्वाँइले विगत दुई सातादेखि भोक-निद्रा भन्न पाएका छ्रैनन् ।
ज्यानको पीडाको के कुरा, खप्नै नसकिने मानसिक पीडाले उनीहरूलाई गाँजेको छ ।
वैशाख ५ गते आमालाई कोरोना संक्रमण पुष्टि भएपछि महेन्द्रनगरदेखि काठमाडौंसम्मको दुसाध्य यात्रा पार गरेर उनीहरू शिक्षण अस्पताल -चलनचल्तीमा टिचिङ हस्पिटल) आइपुगेका हुन् ।
उनीहरूको दुःखको यात्राले कोरोनाले कतिसम्म लखेट्दोरहेछ भन्ने बताउँछ-
कुरा नयाँ वर्ष आसपासको हो । भीमदत्त नगरपालिका वडा नम्बर १८ बस्ने ५९ वषर्ीया जया चन्द (नाम परिवर्तन) पेट पोल्ने समस्याको उपचार गर्न नेपालगञ्ज गइन् ।
नेपालगञ्जमा रहेको एक नर्सिङ होममा चेकअप गराइरहेकी उनलाई डाक्टरले अल्सर भएको हुनसक्ने भन्दै थप परीक्षण गर्न सुझाव दिए । यस्तैमा एकाएक सास फेर्न केही गाह्रो हुने भएपछि डाक्टरले उनलाई कोरोना परीक्षण गराए ।