पछिल्लो समय भारतमा कोरोना संक्रमितहरुको संख्या तिव्र रुपमा बढिरहेको छ।
एकातिर कोरोनाकाे कारण हजारौँ सर्वसाधारणको ज्यान गइरहेको छ भने अर्कोतिर अक्सिजन सिलिण्डरको अभाव पनि उस्तै छ।
कोरोनाभाइरसबाट धेरै प्रभावित भएको भारतमा अहिले दैनिक झण्डै साढे तीन लाख मानिस सङ्क्रमित हुने गरेका छन्।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४९ हजार ६९१ जना सङ्क्रमित बने। त्यस्तै २४ घण्टामा २ हजार ७६७ जनाको कोरोनाकै कारणले मृत्यु भएको छ।
यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोग अधिकतम गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मी र अस्पतालहरुलाई आग्रह गरेका छन्। उनले स्वास्थ्यकर्मीहरुले सूचना र प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवा दिन सकेमा कोरोनाभाइरस विरुद्धको लडाई प्रभावकारी हुने बताएका हुन्
प्रविधिको प्रयोग गरेर विशेषगरी कोरोनाभाइरस सम्बन्धी सल्लाह दिने, सेवा सुविधाका बारेमा बताउने, सचेतना जगाउने लगायतका कार्य गर्नु उपयुक्त हुने उनको भनाई छ।
“स्वास्थ्यकर्मीहरु नै कोरोनाभाइरस विरुद्धको अग्रपंक्तिका लडाकु हुन्, उनीहरुले नै यसमा धेरै खट्नु र सहयोग गर्नु पर्दछ,” उनले भने।