दिक्तेलदेखि गाईघाटसम्म सिधा बस 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कबाट बाम्राङ–बुइपा हुँदै गाईघाटसम्म सिधा बस सेवा शुरु गरिएको छ।

खोटाङ यातायात प्रालिले आइतबारदेखि नियमित सञ्चालन हुनेगरी दिक्तेल–बाम्राङ–डल्लेखोला दोभान–दम्कु–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु गरेको हो।

दिक्तेलको रत्नपार्कबाट प्रत्येक दिन दिउँसो ४ बजे बाम्राङ–डल्लेखोला दोभान–दम्कु–बुइपा हुँदै गाईघाटका लागि बस छुट्ने यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए। पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकमा नियमित बस सेवा शुरु भएपछि यात्रुहरु हर्षित भएका छन्।

यसअघि रत्नपार्कबाट मुडे–नुनथला–महुरे हुँदै गाईघाटलगायत पूर्वी तराईका विभिन्न जिल्लामा नियमित सिधा बस सेवा सञ्चालनमा थियो।

बाम्राङ तथा बुइपाको तल्लो भेगमा पर्ने उक्त सडक खण्डमा नियमित बस सेवा सञ्चालनमा आएपछि यात्रा गर्न तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको छ।

बाम्राङ र बुइपाबासीको मागलाई सम्बोधन गर्दै यातायात व्यवसायीसँग सहकार्य गरेर नियमित बस सेवा शुरु गरिएको बाम्राङका वडाध्यक्ष ललित राईले बताए। निर्माण सम्पन्न गरेको लामो समयसम्म प्रयोगविहीन बनेको उक्त सडकखण्डमा नियमित बस सेवा सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गरिएको छ।

 उक्त सडक खण्डको डल्लेदोभानमा मोटरेबल पक्की पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सम्पन्न भएको र तीन करोड ८८ लाख लागत अनुमान आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख रिजालले बताए।

डल्लेखोला दोभानमा आर्थिक वर्ष २०७७/०७८ मा पुलको बोलपत्र आह्वान हुने र सडक स्तरोन्नतिका लागि विभिन्न निकायसँग समन्वय गर्ने नगरप्रमुख रिजालले जानकारी दिए।

दश स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तह पछिल्लो समय राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन्। जिल्लाका सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन स्थानीय तहहरु लागी परेका छन्।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका ७९ वटै वडामा साना तथा ठूला यातायात सञ्चालनमा छन्।

गाउँगाउँमा निर्माण गरिएका सडकमा नियमित यातायात सञ्चालनमा आएपछि कृषि उपज निर्यात तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको स्थानीय बासिन्दाले बताएका छन्। 

प्रकाशित मिति: : 2021-04-26 07:06:00

प्रतिकृया दिनुहोस्