सेवामा परिवर्तन नहुँदा सर्वसाधरण निजी अस्पताल जान बाध्य
मोरङको उर्लाबारी ३ मङ्गलबारेस्थित मङ्गलबारे अस्पतालको नाम फेरिएर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर भएपनि सेवामा कुनै परिवर्तन नहुँदा सर्वसाधरण सेवाग्राही निजी अस्पताल जान बाध्य भएका छन्।
अस्पतालमा बिरामीको चाप थेग्नै नसक्ने गरी बेढेको छ। तर, एकपछि अर्को डाक्टरले अस्पताल छोडेपछि बिरामीहरू रेफर लेखी मागेर निजी अस्पताल जान थालेका छन्।
स्वास्थ्य बीमा मार्फत उपचार गर्न अस्पताल पुग्ने बिरामीहरू अस्पतालमा डाक्टर नभएपछि निजी अस्पताल जान बाध्य भएका हुन्।
एकपछि अर्को चिकित्सक अध्ययन बिदामा गएपछि निमित्त मेडिकल सुपरिटेन्डेन्टले चलाइरहेको अस्पतालले फेरि पनि निमित्त प्रमुख नै पाएको छ। मङ्गलबार अस्पतालका मेसु योगेशकुमार मण्डलको बिदाई भएको छ।
उनी एमडी अध्ययन गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गएका हुन्। मङ्गलबार डाक्टर मण्डलको बिदाई भएपछि निमित्त मेसुको जिम्मेवारी डा दिब्य खनालले पाएका छन्। खनाल एनेस्थिएसन चिकित्सक हुन्।
अस्पतालमा कुनै पनि शल्यक्रिया हुँदैन्, तर एनेस्थिएन डाक्टरको दरबन्दी रहेको छ। त्यस्तै बालरोग र डेन्टल सर्जनका दुई जना एमडी डाक्टर छन्। बालरोगका केही बिरामी आएपनि डेन्टलका बिरामीको चाप कमी छ।
१५ शैयाको मङ्गलबारे अस्पताल उर्लाबारी नगरपालिकाको मातहतबाट सञ्चालन भइरहेको थियो। सङ्घीय सरकारले मन्त्रीस्तरीय निर्णय गरी २०७७ साउन ५ गते मङ्गलबारे अस्पताललाई प्रदेश स्तरीय बनाउने निर्णय ग-यो।
सोही निर्णयलाई कार्यान्वयन गर्दै प्रदेश नं. १ सरकारले मङ्गलबारे अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्ने र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर नामाकरण गर्ने निर्णय गरेपछि स्थानीयको बिरोध समेत भएको थियो।
स्वास्थ्य चौकीबाट प्राथमिक स्वास्थ्य केन्द्र हुँदै मङ्गलबारे अस्पताल भएको हालको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर यतिबेला चिकित्सक अभावले थला परेको छ।
सरकारले ५० शैयाको अस्पताल बनाउन पूर्वाधार तयार ग-यो। पूर्व पश्चिम राजमार्गसँगै जोडिएर रहेको अस्पतामा ट्रमा सेन्टर सञ्चालन हुने विषयले स्थानीयमा खुसीको सीमा थिएन। तर, प्रदेश नं. १ सरकारले गत असोज १५ गते लेटरप्याड, नाम र साइनबोर्ड परिवर्तन गर्न दिएको निर्देशन चैतको २९ गते मात्रै कार्यान्वयन भएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर योगेशकुमार मण्डलले भने, 'दैनिक ३ सय बढी बिरामी उपचारका लागि आउँछन्।' स्वास्थ्य बीमा मार्फत उपचार गर्न आएका ५० प्रतिशत भन्दा बढी बिरामीलाई ‘रेफर’ गर्नुपर्ने अवस्था रहेको डाक्टर मण्डलले बताए।
भब्य र सुविधा सम्पन्न भवन बने। ट्रमा सेन्टरका लागि आवश्यक उपकरण आए। अन्य प्राविधिक जनशक्ति स्थानीय अस्पताल समितिबाट ब्यवस्थापन भयो। तर, हड्डी भाँचिएर अस्पताल आएको बिरामीलाई उपचार गर्ने विशेषज्ञ चिकित्सक छैन, पट्टी बाँधेर रेफर गर्नुको बिकल्प छैन।
उनले अस्पतालका लागि विशेषज्ञ चिकित्सक सबैभन्दा महत्वपूर्ण हुने बताए। सङ्घीय सरकार, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा पटक पटक डाक्टर पठाउन पत्राचार ग-यौं। आश्वासन आउँछ। डाक्टर आउँदैनन्, मण्डलले हाल अस्पताल नै बिरामी रहेको बताए।
मदन भण्डारी अस्पतालमा हाल ४ जना चिकित्सक छन्। जसमध्ये एक जनाको आइतबार बिदाई भएको छ। अब अस्पतालमा एक जना बाल रोग विशेषज्ञ र एक जना एनेस्थिएसन मात्र रहनेछन्।
सामान्यतया एनेस्थिएसनले ओपिडीमा बिरामीको चेक जाँच गदैनन्। उनले चर्म रोग, हाडजार्नी,नाक कान घाँटी, आँखा, प्रसुति, मुटुरोग लगायत ९ रोगका विशेषज्ञ डाक्टर अनिवार्य रहेको बताए। सरकारी डाक्टर त छैनन् नै, करारमा पनि डाक्टर ल्याउन नसक्दा आफूलाई हिनता बोध भएको डाक्टर मण्डलले बताए।
लोक सेवा आयोगले ३ वर्षयता खुल्ला प्रतिस्पर्धाका लागि विज्ञापन नगरेकोले पनि डाक्टरको अभाव भएको उनको भनाई छ। 'बिरामी रेफर गर्न मन हुँदैन, तर डाक्टर नै नभएपछि रेफर नगरी हुन्न', उनले अस्पतालको समस्या सुनाए।
अस्पतालमा बिरामीकोे चाप मात्र बढेको छैन। पोष्टमार्टम, आकस्मिक सेवा, ओटी, ओपिडी र अस्पताल प्रशासनको दैनिक काम पनि सुपरिटेन्डेन्टको जिम्मामा हुन्छ। ६ महिना यता अस्पतालमा सरदर ३ सय बिरामी आउने गरेको अस्पताल प्रशासनका नासु पुण्यप्रकास ढुङ्गाना बताउँछन्।
ढुङ्गानाका अनुसार ५० वेडको अस्पतालका लागि सामान्यतया ९ जना विशेषज्ञ चिकित्सक, ४ जना मेडिकल अफिसर, १ जना डेन्टल सर्जन, १ जना फिजियोथेरापिष्ट र १ जना नर्सिङ अधिकृत, स्टाफ नर्स ६ जनालगायत ५९ जना जनशक्ति आवश्यक पर्छ।
पूर्व पश्चिम राजमार्गसँगै जोडिएको अस्पतालमा सडक दुर्घटनाका बिरामीको चाप पनि बढी छ। तर अस्पतालमा विशेषज्ञ सेवा नभएकोले बिरामीलाई प्राथमिक उपचार गराई अन्यत्र पठाउने गरिएको छ।
स्वास्थ्य बीमामा आवद्ध बिरामीहरूले रेफर लिन अस्पताल पुग्नै पर्छ। तर, अस्पतालमा रेफर लेखिदिन समेत डाक्टरहरूलाई फुर्सद हुँदैन। दैनिक १ जना अनिवार्य कुनै कुनै दिन ३ जनासम्म पोष्टमार्टमका लागि शव आउने गर्छन्। आकस्मिक सेवा बिरामीको चाप उत्तिकै हुने गरेको छ।
अस्पतालमा ओपिडी कार्ड लिन मात्र होइन, पालो कुर्न समेत बिरामीले घण्टौं पक्तिमा उभिनु पर्ने गरेको छ। बस्ने बेन्च समेत हरेक दिन खचाखच हुने गरेको छ।