बुबा रुनुभयो। पुष–माघ महिना हुनुपर्छ।
बिहान बेलुका निक्कै जाडो थियो। बुबाआमा राति तीन बजेदेखि नै उठेर अगेनाको डिलमा बसेर आगो ताप्नु हुन्थ्यो। अगेनाको कुँडेमा लैना वस्तुलाई खोले फुत्किरहेको हुन्थ्यो।
आमा छेउमा गुन्द्रीमाथि बसेर हतेउरी बाट्नु हुन्थ्यो। गुन्द्री बुन्ने बाबियाको हतेउरी। बेलाबेला बुबाआमा पालैपालो जूनकिरीझैं अँध्यारोमा सुर्ती तान्नुहुन्थ्यो। आमालाई लहरेखोकी लाग्थ्यो। खोक्न थालेपछि खोकीले हिरिक्कै पार्थ्यो। पहिलेदेखि नै आमा अलि रोगी हुनुहुन्थ्यो।
हरेक वर्ष बर्खा लागेपछि अब बर्खा कसरी काट्नु भन्नुहुन्थ्यो। हिउँद लागेपछि पनि अब फेरि यो हिउँद कसरी काट्नु हो भन्नुहुन्थ्यो। रातभरि खोक्नुहुन्थ्यो। नबाली नहुने भएपछि मात्र बाल्नुहुन्थ्यो बत्ति नत्र तेल सकिन्छ भनेर बाल्नुहुन्नथ्यो। तेल सकिन्छ र हामीलाई पढ्न खाँचो हुन्छ भन्नुहुन्थ्यो।