ध्वनि प्रदूषणले मुटुको स्वास्थ्यलाई बिगार्ने अध्ययनले देखाएको छ।
अत्यधिक वा चर्को आवाजले मुटुको समस्या निम्त्याउँछ। युरोपेली हार्ट जर्नलमा सार्वजनिक अध्ययनअनुसार लामो समयसम्म ट्राफिकको आवाजको बीचमा रहँदा हृदय रोगहरूको जोखिम बढ्छ।
सडक र एयरपोर्ट छेउछाउमा बस्ने मानिसमा ट्राफिक र हवाइजहाजको आवाजको प्रभाव जान्नका लागि पाँच सय जना मानिसको पाँच वर्षसम्म अध्ययन गरिएको थियो।
औसत २४ घण्टामा पाँच डेसिबलले आवाजको मात्रा बढ्दा हृदयघात र स्ट्रोकको खतरा ३५ प्रतिशतसम्म बढ्ने अन्वेषकहरूले पत्ता लगाएका छन्।
अनुसन्धानमा संलग्न व्यक्तिहरूमा आवाजको प्रभाव बुझ्नका लागि उनीहरूको मस्तिष्कको स्क्यान गरिएको थियो।
अध्ययनको क्रममा आवाजको बृद्धिले मानिसको दिमागको त्यो भागलाई असर गर्छ जसले तनाव, अशान्ति र डरलाई नियन्त्रण गर्न जिम्मेवार हुन्छ भन्ने पत्ता लाग्यो।
तनाव र चिन्ता बढ्दा शरीरले यसविरूद्ध लड्न एड्रेनालाइन र कोर्टिसोललगायत तनाव हार्मोन उत्पादन गर्छ।
तनाव र मन अशान्त भएको स्थितिमा, रक्तचाप बढ्नुका साथै पाचन क्षमता घट्छ। शरीरमा फ्याट र चिनीको सञ्चालन द्रुत गतिमा हुन थाल्छ, जसले मुटुलाई असर गर्छ।
नयाँ अनुसन्धानका अनुसार अधिक आवाज हुँदा मुटुका धमनीहरू पनि सुन्निने हुन्छ। जसले मुटुमा थप दबाब बढाउने गर्छ।
अनुसन्धान रिपोर्टका अनुसार ध्वनि प्रदूषणले निद्रामा पनि समस्या निम्त्याउने हुँदा यसले मेटाबोलिजमलाई पनि असर गर्छ। आवाज वा ध्वनिलाई डेसिबलमा मापन गरिन्छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार ५५ डेसिबलभन्दा बढीमा ध्वनिको मात्रा स्वास्थ्यलाई हानी गर्छ। कार र ट्रकको आवाज लगभग ७० देखि ९० डेसिबल हुन्छ भने साइरन र हवाइजहाजको आवाज एक सय २० डेसिबल वा बढी हुन्छ।