शरीरका लागि भिटामिन डी जरुरी !

BBC
BBC

सूर्यको प्रकाशबाट पाइने भिटामिन डी शरीरका लागि अति आवश्यक तत्वमध्ये एक हो।

खानाबाट पर्याप्त पोषक प्राप्त गर्न नसक्ने हुँदा भिटामिन डीको अधिकतम मात्रा प्राप्त गर्न घाममा बस्न नै आवश्यक हुन्छ। तर, हालको समयमा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखापर्न थालेको हो। 

घरभित्र धेरै बस्ने, कालो छाला हुने, वृद्धवृद्धा, अधिक तौल भएको वा मोटो मानिस, माछा वा डेरी पदार्थको सेवन नगर्ने, सूर्यको प्रकाश कम हुने ठाउँमा बस्नु भिटामिन डीको कमी हुने सामान्य कारण हुन्।

भिटामिन डीले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्छ। बिरामी वा सङ्क्रमणको जोखिम बढ्नु यसको अभाव हुँदा देखिने सबैभन्दा सामान्य लक्षणमध्ये एक हो। 

केही अध्ययनका अनुसार शरीरमा भिटामिन डीको पर्याप्त मात्रा उपलब्ध भएका कारण सामान्य चिसो र फ्लूबाट बच्न सकिन्छ। 

भिटामिन डीको कमीले हड्डी तथा मांसपेशी कमजोर हुने, हड्डी तथा मांसपेशीमा दुखाइ हुने तथा रिकेट्स र अस्टियोपोरोसिस जस्ता रोग निम्त्याउन सक्छ।

अपर्याप्त भिटामिन डीको स्तरले गर्दा शल्यक्रिया, चोटपटक लाग्दा वा सङ्क्रमणपछि भएको घाउ निको हुन समय लाग्न सक्छ। 

अत्यधिक थकान, अल्छी लाग्नु, कपाल झर्ने समस्या हुनु पनि भिटामिन डीको कमीको सङ्केत हुनसक्छ। भिटामिन डीको कम स्तरले मुड खराब बनाउने हुँदा यो डिप्रेसनको कारणसमेत बन्न सक्छ।

भिटामिन डीको कमीलाई सामान्यतया घाममा बस्ने समय बढाएर, माछा वा डेरी उत्पादनलगायतका अधिक भिटामिन डी–समृद्ध खाद्य पदार्थको सेवनले हटाउन सकिन्छ। साथै, डाक्टरको परामर्श लिएर भिटामिन डीको सप्लिमेन्ट पनि लिन सकिन्छ। 

एक वर्षभन्दा कम उमेरका शिशुलाई दैनिक २५ माइक्रोग्राम भिटामिन डी चाहिन्छ। एकदेखि १० वर्षबीचको बच्चालाई दैनिक ५० माइक्रोग्राम भिटामिन डी आवश्यक हुन्छ। अन्य उमेर समूहका मानिसले दैनिक एक सय मिलिग्रामभन्दा बढी भिटमिन डी लिनु हुँदैन।

प्रकाशित मिति: : 2021-04-22 18:31:00

प्रतिकृया दिनुहोस्