नेपालको दशगजा क्षेत्रमा २५० भारतीय परिवारको बसोबास

तपाईंहरु यो ठाउँमा पुग्दा लाग्छ, भारत बिहारको कुनै क्षेत्रमा प्रवेश गर्नुभयो। तर रोचक कुरा, यो ठाउँ भारतीय क्षेत्रमा पर्दैन। नेपालको दशगजाभित्र पर्छ। तर यहाँ भारतीयहरुको बाक्लो बसाई छ।

सिरहाको लगडी–गदियानीको दशगजा क्षेत्र, जहाँ २ सय ५० भारतीय परिवार बसोबास गर्छन्। यो ठाउँ सिरहा नगरपालिका–२० मा पर्छ।

सीमास्तम्भ गदियानीका ज्ञानी मुखियाको घरको आँगनमै छ। यो नेपाल–भारतबीचको सीमा छुट्याउने २८ नम्बर पिलर पनि हो।

मुखिया भारतको लगडी गाउँका निवासी हुन्। उनको घर पिलरदेखि भारततर्फ पर्छ भने गाईगोरु नेपालतिर बाँध्ने गर्छन् । उनी अहिले मात्र यहाँ आएर बसेका होइनन्।

पूर्खादेखि दशगजा क्षेत्रमा बस्दै आएका हुन्। उनलाई दशगजा क्षेत्रमा बस्न नहुने न नेपाल सरकारले बतायो, न भारतीय पक्षले नै। त्यसैले उनी बेखबर यहाँ बसोबास गर्छन्।

नेपालतर्फ गादियानी गाउँमा बसोबास गर्ने ६७ वर्षीय राजेन्द्र यादव भन्छन्, ‘पहिले दशगजा ऐलानी पर्ति जग्गा थियो। सीमा जोडिएका खेतवालाले बिस्तारै मास्दै गए। अब त सीमामा पिलर देखिन्छ। दशगजा देखिँदैन। दुवैतिरका बासिन्दाले पाएसम्म मिचेका छन् ।’

उनी दशगजा मिचिएको ठाउँमा केहीले खेती गरेका छन् भने केहीले स–साना टहरा बनाएर पसल खोलेको बताउँछन्। सिरहाको लगडी–गदियानीस्थित दशगजा क्षेत्र अतिक्रमण गरी भारतीय नागरिकले बस्ती नै बसालेका छन् । बस्ती भारतको पदमा ग्राम पञ्चायतको वडा नम्बर ४ लगडी गाउँको हो।

भारतीय नागरिक जयनारायण मुखिया पूर्वजदेखि नै दशगजा क्षेत्रमा बसोबास गर्दै आएको सुनाउँछन्। उनी भन्छन्, ‘कहिलेकाहीँ नेपाल र भारतका प्रहरी पिलरको फोटो खिच्न आउँदा यो क्षेत्र खाली गर्नुपर्ने हुन्छ। फोटो लिएर गएपछि फर्केर आउँदैनन् ।’

लगडी गाउँकै कपिलदेव यादव पनि आफूहरू पुस्तौंदेखि दशगजामा बसोबास गर्दै आएको बताउँछन्। ‘यहाँ त घर आँगनमै जंगे पिलर छ,’ उनी भन्छन्, ‘केही महिनाअघि दुवै देशका अधिकारीले फेरि सीमास्तम्भ गाडेका छन् ।’

दुवैतिरका बासिन्दाले दशगजा मिचेर बस्ती र खेती गर्ने गरेको उनको भनाई छ। ‘दशगजा क्षेत्रमा भारतीय नागरिक बसोबास गर्न थालेपछि २८ नम्बरको पिलरभन्दा ६० मिटर उत्तर वर्षायाममा पानी बग्ने ठाउँलाई अहिले दशगजा भन्न थालिएको छ,’ उनको भनाई छ।

सीमावर्ती छिमेकी गाउँका नेपाली नागरिक पनि दशगजा क्षेत्रको विभिन्न ठाउँमा खेती गर्दै आइरहेका छन्। सिरहा नगरपालिका, औरही, बरियारपट्टि, नवराजपुर र भगवानपुर गाउँपालिकाको सीमावर्ती वडामा दशगजा मिचिएको छ। भारतीय प्रहरीले बोर्ड टाँगेर ठाडी बजारस्थित दशगजामै चेकपोस्ट राखेको छ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाल र भारत दुवै देशका नागरिकलाई दुई देशबीचको अन्तर्राष्ट्रिय सिमानाको महत्त्वबारे चेतना नभएको स्थानीय कन्हैया भट्ट बताउँछन्।

‘केही भारतीयले नेपाली नागरिकता बनाएका छन् भने केही नेपालीले भारतीय आधार कार्ड बनाएका छन्,’ उनी भन्छन्, ‘त्यस्ता व्यक्तिको दुवैतिर जग्गाजमिन छ। खेती गर्छन्।’

दशगजा मिचेर बसे पनि एकापसमा विवाद कहिल्यै नभएको उनी सुनाउँछन्। प्रहरीको तथ्यांकअनुसार सिरहामा मुख्य २७, सहायक १९ र सानो ३ सय ४२ गरी ३ सय ८८ वटा पिलर रहेको छ।



कोरोनाको नयाँ प्रजातिबाट बालबालिकामा भएको संक्रमण दर खतराको घण्टी हो: प्रा.डा. बिच्छा (भिडियो अन्तर्वार्ता)

आकाशबाट खसेको जहाज यसरी बचाएँ

प्रकाशित मिति: : 2021-04-20 18:07:00

प्रतिकृया दिनुहोस्