यी हुन् देउवा प्रधानमन्त्री बन्ने दुई बाटा

सागर न्यौपाने

काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन लागेको सूचना पाएलगत्तै संसदको हिउँदे अधिवेशन अन्त्य गराएका छन्।

नेपाली कांग्रेसको अगुवाइमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मिलेर प्रधानमन्त्री ओलीविरुद्ध मंगलबारभित्र अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थियो। तर, ओलीले आइतबार बेलुकै त्यसबारे सुइँको पाएपछि सोमबार बिहानै मन्त्रिपरिषद्को बैठक राखेर संसद् अन्त्यको सिफारिस गरे।

लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य भएको जानकारी संसदलाई गराइसकेकी छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने चर्चाका बीच ओलीले हठात् संसद् अधिवेशन अन्त्य गरेका हुन्।

संसद् अन्त्य भएपनि ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसद् सचिवालयमा दर्ता गर्न मिल्छ। त्यसरी दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न संसदमा रहेका एक चौथाइ सांसदले विशेष अधिवेशन माग गरेर राष्ट्रपति समक्ष समावेदन दर्ता गराउन सक्छन्। त्यसपछि राष्ट्रपतिले बैठक बोलाउनैपर्ने व्यवस्था छ।

देउवासँग संसदमा बहुमत हासिल गर्ने दुई वटा बाटो बाँकी छन्: जसपाको समर्थन वा एमालेको माधव नेपाल पक्षको साथ।

संसदमा ३२ सिट रहेको जसपामा प्रधानमन्त्री ओलीलाई साथ दिने कि नयाँ गठबन्धन बनाउने भन्नेबारे दुई धार छ।

जसपाले साथ दिने हो भने देउवाको पक्षमा बहुमत पुग्छ।

कर्णाली प्रदेशमा एमालेको माधव नेपाल पक्षले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिई सरकार जोगाइदिएपछि ओलीविरुद्ध समीकरण बनाउने दबाब जसपालाई छ।

प्रकाशित मिति: : 2021-04-20 07:21:00

प्रतिकृया दिनुहोस्