टीएलपीको कब्जामा रहेका पाकिस्तानी प्रहरी मुक्त

NepalJapan
NepalJapan

कट्टरपन्थी इस्लामिक पार्टीका समर्थकहरूद्वारा आइतबार बन्धक बनाएका सबै पाकिस्तानी प्रहरी र विशेष वन अधिकारीहरूलाई सोमबार मुक्त गरिएको छ। 

फ्रान्स विरोधी प्रदर्शनका केही दिनपछि पाकिस्तानको लाहोर सहरमा प्रहरीलगायत अन्य केही सरकारी कर्मचारीलाई बन्धक बनाइएको थियो। 

उनीहरू सबैलाई आन्दोलनरत समूहसँगको छलफलपछि मुक्त गरिएको पाकिस्तानी गृहमन्त्री शेख रशिद् अहमद्ले सोमबार बिहान सञ्चारकर्मीलाई बताए।

तेहरिक–ए–लब्बाइक पाकिस्तान (टीएलपी) समूहले लाहोरमा गर्दै आएको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र आन्दोलनकारीले प्रहरीको एक समूहलाई बन्धक बनाई स्थानीय मश्जिद्मा राखेको थियो। 

गृहमन्त्रीले भने, 'आन्दोलनकारीसँग सम्वाद सुरू भएको छ। पहिलो चरणको सम्वादपछि बन्धक बनाइएका प्रहरीलाई मुक्त गरिएको छ भने थप छलफलहरूको तयारी भइरहेको छ।' 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले चार्ली हेब्दो पत्रिकालाई इस्लाम गुरू पैगम्बर मोहम्मदलाई चित्रण गर्ने कार्टुनहरू पुनः प्रकाशित गर्ने अधिकार रहेको अभिव्यक्ति दिएपछि उनीहरूले आन्दोलन गर्दै आएका हुन्।

इस्लामिक उक्त समूहले फ्रान्सका राष्ट्रपतिको अभिव्यक्ति धेरै मुसलमानहरूले ईश्वरनिन्दा ठान्ने कार्य भएको ठहर गर्दै म्याक्रोँले आफ्नो भनाइप्रति आत्मआलोचना गर्नुपर्ने बताएको छ। एएफपी

प्रकाशित मिति: : 2021-04-19 20:21:00

प्रतिकृया दिनुहोस्