प्रज्ञामा पुस्तक प्रदर्शनी जारी

नेपाली पाठकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नयाँ वर्ष २०७८ का अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी शुरु गरेको छ।

गत चैत ३१ गतेदेखि शुरु भएको प्रदर्शनी यही वैशाख १४ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानको पुस्तक बजार व्यवस्थापन प्रमुख सुधीर ढुङ्गेलले जानकारी दिए। प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म छुट दिइएको छ। एउटा शब्दकोश किन्दा १५ र दुई शब्दकोश किने २० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ।

 प्रदर्शनीमा ४२२ प्रकारका पुस्तक र १०० प्रकारका पत्रिका राखिएको छ। बाल  साहित्य, समालोचना, कोश, दर्शन, इतिहास, संस्कृति, डायस्पोरालगायत विधाका पुस्तक प्रदर्शनीमा छन्। समकालीन साहित्य, कविता, प्रज्ञा, आँगनलगायत पत्रिका पनि प्रदर्शनीमा राखिएको छ। हात हातमा प्रज्ञाका पुस्तक पु¥याउन प्रदर्शनीले सहयोग गर्ने उनको विश्वास छ।

प्रज्ञाका पुस्तक निजी क्षेत्रका व्यवसायीबाट पनि बेचबिखन गराउने उद्देश्यले टेण्डरसमेत आह्वान गर्न लागिएको छ। मोफसलसम्म पनि सहज रुपमा प्रज्ञाले प्रकाशन गरेका पुस्तक पाउने व्यवस्था गर्न लागिएको बजार व्यवस्थापन शाखा प्रमुख ढुङ्गेलले जानकारी दिए।

पाठकको माग भएमा वैशाख १४ गतेपछि पनि प्रदर्शनी जारी राखिने जनाइएको छ।

प्रकाशित मिति: : 2021-04-17 14:28:00

प्रतिकृया दिनुहोस्