दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु

यहाँको शम्भुनाथ नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा आज भएको दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु भएको छ।

शम्भुनाथ नगरपालिका–३ स्थित शम्भुनाथ मन्दिरको प्रवेशद्वार अगाडि सडकखण्डमा ना६ख ७८९२ नम्बरको बसको ठक्करले स१च ५५२ नम्बरको एम्बुलेन्स चालक सिरहा सुखीपुर बस्ने ५० वर्षीय छेदीलाल कामतको मृत्यु भएको प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसले विपरीत दिशातर्फ आउँदै गरेको एम्बुलेन्सलाई ठक्कर दिँदा कामतको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

कामतको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ। ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका बस चालकको खोजतलास भइरहेको प्रनाउ काफ्लेले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-04-16 17:47:00

प्रतिकृया दिनुहोस्