वर्ष २०७७ ले सुल्झाउन नसकेको भेरीको त्यो 'हत्याकाण्ड'

पहिलोपोष्ट

काठमाडौं

यतिखेर मनलाल विकसँग आफ्नो घरबाट बाहिर निस्किने हिम्मत छैन। २०७७ साल उनी र उनको परिवारका लागि ठूलो बज्रपातसहित भित्रियो। उनका छोरा मारिए। छोराको हत्याको विषयलाई लिएर लड्दै गरेका उनी आफैँ मानसिक रुपमा बिचलित भइसकेका छन्। न्यायको आशा निभ्ने डरकै कारण उनी घरबाट बाहिरिन आत्तिन्छन्।

मनलाल अर्थात् रुकुम पश्चिममा मारिएका नवराज विकका बाबु।

'त्यतिखेर त सबै बोलिदिएका थिए। उनीहरू सबै आफ्ना हुन् जस्तो लाग्थ्यो तर अहिले त घटना सबैले बिर्से झै भइसक्यो,' मनलालले भने, 'न्यायको आशामा एक वर्ष बित्न लाग्यो। कहिलेसम्म कुरिरहनुपर्ने हो थाहा छैन।'

२०७७ सालको दोस्रो महिना अर्थात् जेठ १० गते। नवराज र उनका अन्य ५ जना साथीलाई कुटीकुटी भेरीमा बगाइयो। अन्तर्जातीय 'प्रेम'कै कारण भएको त्यो हत्याकाण्डले नेपालमा दलितको हैसियत नाङ्गियो। वर्ष सकिँदासम्म नाङ्गिएको त्यो हैसियतमा न्यायको पछ्यौरा कसैले ओडाउन सकेनन्।

मार्नेहरू त छाडौं, साथ दिनेहरू पनि यतिखेर उनीभन्दा टाढा पुगिसकेका छन्। मारिएका त उनका मात्र छोरा थिएनन्। उनका छोराका मिल्ने ५ जना साथीहरू पनि त्यही मेसोमा भेरीमा हेलिए। सबैका लागि न्याय खोजिरहँदा मारिने अरुका परिवारले समेत नवराजकै बुबातर्फ औंला तेर्स्याइरहेका छन्। त्यसैले पिरोल्छ उनलाई।

+++

रुकुम पश्चिमको सोती गाउँका ठकुरी परिवारकी एक किशोरीसँग प्रेममा थिए जाजरकोट राना गाउँका नवराज विक। भेरी नदीले छुट्याएको दुई जिल्लाका गाउँहरूको दुरी ३५ किलोमिटरमात्रै। बिचमा भेरीको भेल। त्योभन्दा डरलाग्दो गरि उभिएको सामाजिक विभेदको पर्खाल। त्यही पर्खाल भत्काउने क्रमले लियो डरलाग्दो मोड।  

प्रेमिकालाई विवाहका लागि भगाउन सोती पुगेका थिए नवराज। आफ्ना १८ जना साथीसहित भेरी तरेका नवराज ‘बेहुली’ लिएर फर्कन भने सकेनन्। उनीसहित अन्य ५ युवाको शव भेरी नदीमा भेटियो। गएका अन्य सबै शरीरभर चोट लिएर फर्किए।

जेठ १० गते नवराज आफ्नी प्रेमिकासँग विवाह गर्ने योजनासहित सोती गाउँ पुगेका थिए, साथीहरू लिएर। उनीहरूको समूहलाई देखेपछि किशोरीकी आमा जोडजोडले कराएकी थिइन्। उनले प्रश्न गरेकी थिइन् ‘फेरि आइस् डुम?’

त्यहाँ वादविवाद नगरी जाजरकोट फर्कँन ओरालो लागे केटाहरू। ओर्लँदा ओर्लँदै अनायासै वरपरबाट ढुंगामुडा हुन थाल्यो।

किशोरीको परिवार, चौरजहारी वडा नम्बर ८ का अध्यक्ष डम्बरबहादुर मल्लसहित गाउँका अन्य मानिसले उनीहरूलाई लखेट्दै भेरी नदीसम्मै झरे। लखेटिएकामध्ये केहीले पौडिएरै नदी तरे। पौडन नसक्नेहरूलाई गाउँलेले ढुंगामुडा गर्न छाडेनन्। अनि घट्यो त्यो विभत्स घटना।

प्रकाशित मिति: : 2021-04-14 11:49:00

प्रतिकृया दिनुहोस्