खानेपानीमा भ्रष्टाचार भएको आशंका, लेखापरीक्षण र साधारणसभा गर्न निर्देशन

नगर विकास कोषले मोरङको सुन्दरहरैचा–१० स्थित इन्द्रपुर साना सहकारी खोपानी तथा सरसफाई उपभोक्ता संस्थालाई लेखापरीक्षण गरी यथासक्य चाँडो साधारण सभा गर्न निर्देशन दिएको छ।

कोषले चैत २४ गते पत्र पठाएर स्थापनाकालदेखि हालसम्म साधारण सभा र अधिवेशन हुन नसकेको अवस्थामा कोषको ध्यानाकर्षण भएको जनाएको छ। पत्रमा पटकपटक लेखापरीक्षण र साधारण सभा गर्न पत्राचार गर्दा पनि बेवास्ता गर्नुको कारण समेत उल्लेख गर्न भनिएको छ।

२०६२ सालमा स्थानीय उपभोक्ताले कूल लागतको ५ प्रतिशत रकम जम्मा गरेर इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गठन गरेका थिए। नगर विकास कोषको ऋण सहयोगमा आयोजना २०७२ मा सम्पन्न भएको हो । तत्कालिन इन्द्रपुर गाविसका उपभोक्तालाई खानेपानी वितरणका लागि गठित आयोजनाले पानी वितरण गरेको ५ वर्ष पूरा भयो। तर त्यस यता न त संस्थाको लेखापरीक्षण भएको छ न त साधारण सभा नै भएको छ।

संस्थाका अध्यक्ष केदार गुरागाइँले हरेक आर्थिक वर्षमा लेखापरीक्षण गरिएको दावी गरे । साधारण सभा गर्न भने नसकिएको उनको भनाई छ। उनले २०७८ को जेठ पहिलो साता साधारण सभा गर्ने तयारी भइरहेको बताए।

अध्यक्ष गुरागाइँले भने– ‘१२ करोड नगर विकास कोषको ऋण छ, यो ऋण तिर्ने दायित्व हामी सबैको हो।’ तर, संस्थाका सचिव मित्रसेन योञ्जनले सर्वदलीय संरचनामा संस्था गठन भए पनि हाल सम्म अध्यक्षले बैठक नबोलाएको जानकारी दिए।

अध्यक्षले एकलौटी ढंगबाट संस्था चलाउँदा संस्थामा भ्रष्टाचार भएको विषय बाहिर आयो। हामीले अध्यक्षलाई सोध्यौँ तर अध्यक्षले जवाफ नदिएपछि बैठकमा जान छोडेको सचिव योञ्जनको भनाई छ।

यता सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले नगर विकास कोषले २०७७ चैत २४ गते नगरपालिकालाई पनि पत्र पठाएर साधारण सभाका लागि समन्वय गर्न अनुरोध गरेको बताए। उनले भने– 'नगरपालिका जमानीमा रहेको आयोजनाको अधिवेशन हुन नसक्नुको कारण बारे हाम्रो पनि ध्यानाकर्षण भएको छ।'

२४ करोड रुपैयाँको लागतमा निर्माण भएको आयोजनाले ४ लाख ५० हजार लिएको ओभरहेड ट्याङ्कीबाट दैनिक पानी वितरण गरिरहेको छ।

६ हजार ५ सय उपभोक्ता रहेको खानेपानी आयोजनालाई एसियाली विकास बैंकले सहयोग गरेको छ।

प्रकाशित मिति: : 2021-04-14 08:14:00

प्रतिकृया दिनुहोस्