आजभन्दा करिव १३.७ अर्ब वर्ष पहिले ‘बिग ब्याङ्ग’ बाट सृष्टिको उत्पत्ति भएको विज्ञानको तर्क छ।
पृथ्वीकाे सृष्टि भएदेखि अहिलेको समयावधिलाई विभिन्न भौगोलिक समय तालिकामा विभाजन गरिएको पाईन्छ। जसमा मानव, अन्य जीव तथा वनस्पती र अन्य बोटविरुवाहरुको उत्पत्तिको वर्णन गरिएको छ।
करिव ४.५ अर्ब वर्षअघि पृथ्वीको सृष्टि भएको थियो। सुरुमा पृथ्वीमा जीवहरु उत्पत्ति हुन अनुकूल वातावरण थिएन। पृथ्वी सृष्टि भएको ६० करोड वर्षपछि मात्र जीवहरुको लागि अनुकुल वातावरणको सृजना भयो। त्यसपछि विस्तारै विभिन्न जीवहरुको विस्तार हुन थाल्यो।
आजभन्दा करिब ५४ करोड वर्ष पहिलेको समयावधिलाई आद्यमहाकल्प भनेर परिभाषित गरिएको छ। यस कल्पमा एक कोषीय जीवहरुको उत्पत्ति भएको थियो। यस्तै २५ करोड वर्ष पहिलेको समयावधिलाई पुराजीव महाकल्प भनिन्छ। यस महाकल्पमा ढाड नभएका समुद्री जीव, माछाको उत्पत्ति, पखेटा भएका किराहरुको उत्पत्ति र अन्तमा घस्रने तथा उभयचर जीवहरुको उत्पत्ति तथा विकास भएको थियो।
करिब ६ करोड ५५ लाख वर्ष पहिलेको समयावधिलाई मध्यजीव महाकल्पको रुपमा चिनिन्छ। यस समयमा विभिन्न प्रकारका पहाड तथा पर्वत शृङ्खलाहरुको निर्माण भएको थियो। साथै स्थल, जल र वायुमा जीवहरुको बाँच्न सक्ने वातावरण सृजना भएको थियो। यसै समयकालमा विभिन्न फूल फुल्ने बोटविरुवाहरुको उत्पत्ति र डाईनोसरको विकास र विनाश भएको मानिन्छ। यहीँ समय कालदेखि नै स्तनधारीहरुको उत्पत्ति सुरु भएको विभिन्न अध्ययनहरुमा उल्लेख छ।
आजभन्दा ५५ लाख बर्ष अघिदेखी हाल चलिरहेको समयावधिलाई नवजीव महाकल्प भनिन्छ। यस महाकल्पको सुरुमा वायुमण्डल, चट्ठान टुट्ने– फुट्ने, भु–हलचल जस्ता परिवर्तनहरुले गर्दा धेरै जीवहरुको विनाश भएको थियो। विस्तारै चराचुरुङ्गी, स्तनधारी जन्तुहरुको उदय भई विकास र विस्तार हुँदै गयो। त्यसपछी क्रमिक रुपमा अनेक जीवहरुको उत्पत्ति सुरु हुन थाल्यो। विस्तारै ह्वेल माछा र चारखुट्ठे स्तनधारी जनावरहरुको विकासक्रम तिब्र गतिमा अघि बढ्यो। साथै बाँदर प्रजातिको सुरु भएपछी आधुनिक मानवजातीको विकास भई आधिपत्य कायम हुँदै गयो।
विभिन्न कल्प र विकास चरण पार गर्दै मानवले अहिले धर्तिकै उत्कृष्ट जीवमा आफुलाई राखेको छ। सुरु सूरुमा मानव जङ्गली भु-धरातलमा रहेको थियो। विस्तारै ज्ञान र सिपको विकास बढ्दै गएपछी अरु जीवभन्दा भिन्नै तरिकाले मानवहरुले पहिचान खोज्न थाले। विस्तारै गास, बास र कपासको अनुकुल मिलाउँदै गएपछी मानव प्रजातिले छुट्ठै खालको स्वरुप लिन थाल्यो। अहिलेको मानव प्रजातिको विकास बादरहरुको पूर्व वंशज हो भन्दा फरक पर्दैन।
उसो त मानवले आफ्नो प्रजातिभन्दा ठुलो कसैलाई मानेका छैनन्। मानवले बनाएको विज्ञान र प्रविधिले अहिले सम्पुर्ण जीवहरुलाई दबाईदिएको छ। यदि विज्ञान र प्रविधिको विकास नभएको भए सम्भवतः पृथ्वीमा अर्कै प्रजातिको राज हुने थियो। मानव प्रजातिले आफ्नो बल, बुद्दि र विवेकलाई सबैभन्दा बढि उपयोग गर्दै शक्तिसाली बनेको छ।
अहिले विज्ञान र प्रविधि निकै अघि बढिरहेको छ, तर विज्ञान र प्रविधिले नै कुनै दिन अस्तित्व मेटाउन सक्छ भन्ने कुरा मानिसले कहिल्यै गौर गरेका छैनन्।विज्ञान र प्रविधिको प्रयोग गरेर मानवले अहिले आफुलाई धेरै सहज बनाईसकेको छ। अन्य प्रजातिको विकास क्रमलाई मानवले सामान्य ठान्दछ।
विज्ञान र प्रविधि मानिसको लागि ठुलो अहंकार बोकेको छ। जसले गर्दा मानवले आफूलाई नै धर्तिकै उत्कृष्ट ठान्दछ। हुन त अन्य जीवहरुले अहिलेसम्म सिकेको भनेकै बाँच्ने कला हो। मानिसले भने बाँच्ने कलापनि विज्ञान र प्रविधिमा खोजे, फरक यत्ती हो। मानव प्रजातिअघि विभिन्न जीवका प्रजातिले आ-आफ्नो समयकालमा आ-आफ्नै तरिकाले राज गरेका थिए।
अब आउने दिनमा मानव अस्थित्वको अन्त्य भई कुनै नयाँ जीवको विकास हुने पो होकि ! यो कल्पनाबाट पनि टाढा त कहाँ भाग्न सकिन्छ र?