ब्राजिलमा कोरोनाका कारण एकैदिनमा ४२ सयको मृत्यु

ब्राजिलमा कोरोनाभाइरसका कारण एकैदिनमा थप चार हजार २४९ जनाको मृत्यु भएको छ। 

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ४५ हजार २५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दैनिक चार हजारभन्दा बढीको मृत्यु भएको एकै हप्तामा यो दोस्रो पटक भएको जनाएको छ। यसअघि गत मङ्गलबार ब्राजिलमा कोरोनाका कारण एकैदिनमा चार हजार १९५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ।

सरकारी अधिकारीहरुले अप्रिल महिनामा कोरोनाका कारण नराम्रो क्षति धेरै वेहोर्नु पर्ने अवस्था रहेको बताएका छन्। कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८६ हजार ६५२ जना सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ। 

योसँगै ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या एक करोड ३२ लाख ७९ हजार ८५७ पुगेको छ।

ब्राजिलमा मध्य जनवरीदेखि कोरोनाभाइरस विरुद्ध खोप अभियान सुरु भएको छ। तर सङ्क्रमित र मृतकको सङ्ख्यामा भने कमी आएको छैन। देशभरी अहिलेसम्म दुई करोड ७५ हजार ११ हजार ५३७ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ। 

कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको सूचीमा ब्राजिल दोस्रो क्रममा रहेको छ। ब्राजिलमा भन्दा धेरै अमेरिकामा कोरोनाको असर परेको छ। 

हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेपिरेहको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण निकै तीव्र बन्दै गएको छ। अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन्। 

देशको जनसङ्ख्याको १० प्रतिशतले पहिलो डोजको खोप लगाएका छन्। तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि एकमात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको विज्ञहरुको दाबी रहेको छ।

तर राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि प्रतिबन्ध तथा लकडाउन घोषणा गरेका छैनन् । भाइरस नियन्त्रणका कारण आवश्यक कदम नचालेको भन्दै उनको निकै चर्को आलोचना हुने गरेको छ। 

तर राष्ट्रपति बोल्सोनारोले भने आफ्नो नीतिको बचाउ गर्दै आउनु भएको छ। उनले लकडाउन तथा प्रतिबन्धहरुका देशको अर्थतन्त्र बिग्रने दाबी गर्दै आउएका छन्। जुन देशका लागि भाइरसको प्रभावभन्दा बढी हानिकारक हुने उनको दाबी रहेको छ।

तर देशको राजनीतिका पस्थितिको कारण ब्राजिलका यो स्थिति आएको र दुभाग्यबस ठूलो सङ्ख्यामा व्यक्तिहरु ज्यान गुमाएका विज्ञहरुको भनाइ रहेको छ। 

कोरोना भाइरस नियन्त्रणका लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य सङ्कट निम्त्याउनुमा राष्ट्रपति जैर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ। 

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २९ लाख भन्दा  बढीले ज्यान गुमाइसकेका छन्। त्यसैगरी १३ करोड ४५ लाख भन्दा बढी सङ्क्रमित भइसकेका छन्।

प्रकाशित मिति: : 2021-04-09 14:59:00

प्रतिकृया दिनुहोस्