६१ वडामा स्वास्थ्य बीमा कार्यक्रमको शुरु

ताप्लेजुङको ६१ वडामा बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको छ। स्वास्थ्य बीमा बोर्ड स्थापना भएको पाँच वर्ष पुगेको अवसरमा एकैपटक पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको स्वास्थ्य बीमा बोर्डका प्रदेश नं १ संयोजक दुर्गाप्रसाद आचार्यले बताए।

ताप्लेजुङसहित दोलाखा, बारा, सर्लाही, मनाङ र मुस्ताङ जिल्लामा एकैपटक कार्यक्रम सञ्चालन भएको आचार्यले बताए। उनका अनुसार बोर्ड स्थापना भएको पाँच वर्षमा ७५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पुुर्याउन सफल भएको छ।

ताप्लेजुङका नौ स्थानीय तहको प्रत्येक वडामा एक जना दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा कार्यक्रम सञ्चानल हुने आचार्यले बताए। ताप्लेजुङमा नौ स्थानीय तह र ६१ वडा छन्।

प्रत्येक वडामा एक दर्ता सहयोगी छनोट गरिएर ६१ दर्ता सहयोगीको बिहीबारदेखि सदमुकाम फुङ्लिङमा तीनदिने अभिमुखीकरण तालिम सञ्चालन हुँदै गरेको उनले जानकारी दिए।

उनका अनुसार आगामी आइतबारदेखि दर्ता सहयोगीले ताप्लेजुङको सबै वडा गएर स्वास्थ्य बीमाको महत्व बुझाउँदै बीमा दर्ता कार्याक्रमलाई अगाडि बढाउने छन्। 

सिरिजङ्घा गाउँपालिका, मैवाखोला गाउँपालिका र ताप्लेजुङ जिल्ला अस्पतालसँग सम्झौता गरेर स्वास्थ्य बीमा कार्यक्रममा सहभागीहरुको स्वास्थ्य सेवा उपलब्ध गराउने जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख राजकुमार पोखरेलले बताए।

आकस्मिक उपचारका लागि बोर्डसँग सम्झौता गरेको जुनसुकै अस्पतालमा उपचार सेवा पाउने पोखरेले बताए।

प्रकाशित मिति: : 2021-04-09 08:53:00

प्रतिकृया दिनुहोस्