कक्षाकोठामा नेपाली बालगीतको प्रयोग खोइ?

हिमाल खबर

काठमाडौं

अभिनय गर्दै गाइने बालगीतमार्फत बालबालिकाले शब्दको ज्ञान र स्मरण मात्र नभइ अर्थसमेत सजिलै बुझ्छन्। तर, अंग्रेजी भाषाका बालगीतलाई मात्र महत्व दिइँदा नेपाली भाषामाथि बालबालिकाको पकड कमजोर भइरहेको छ।

‘झोला झोला झोला,
ए जोगीले बोक्ने झोला 
झोलामा के–के होला?
ए दुईटा कोला होला,
कसले खाने होला?
ए जोगीले खाने होला।’
बालविकास कक्षादेखि अंग्रेजी तथा नेपाली बालगीत सुन्दै/गाउँदै कक्षा युकेजी पुगेका निनाम्मा राई, अंकिता चौधरी र एलिशा शर्मा आफैंले बालगीत रचे। कनिकुथी रचेको यही गीत गाउँदै उनीहरु नाच्न थालेका छन्। 

कतिपय यस्ता बालगीत हामी शिक्षक आफैंले पनि रच्ने गरेका छौं। उनीहरुले जानी/नजानी रोजेका शब्दलाई बालगीतको लयमा राख्न सहजीकरण पनि गरिदिन्छौं। दिन, बार, जनावर, फलफूल, तरकारी लगायत विषयमा रचिएका नेपाली र अंग्रेजी भाषाका बालगीत गाउ“दा उनीहरुले शब्दको सही उच्चारण जान्दछन्। ती शब्द सम्झिरहन सक्छन्। अर्थ सम्झनसमेत बालगीतले सहयोग गर्छ।

यसर्थ बालगीतहरु बालबालिकाका लागि औपचारिक शिक्षामा प्रवेश गर्ने विन्दु पनि हो। पूर्वप्रावि तथा प्रावि तहका बालबालिकाहरुको सर्वाङ्गिण विकासमा बालगीतले महत्व राख्छ। यस्ता गीत बालबालिकाले अभ्यास गर्ने जुनसुकै भाषामा बनाउन सकिन्छ।

बहुसंख्यक विद्यालयले बालगीतलाई त्यति महत्व दिएको पाइँदैन। प्रायः संस्थागत विद्यालयका मन्टेश्वरी र पूर्व प्राथमिक तहका विद्यार्थीलाई नेपालीभन्दा अंग्रेजी बालगीत गाउन सिकाइन्छ। ती गीत अरुले नै रचिदिएका हुन्छन्। त्यसैले हाम्रो परिवेशमा मिल्दैन। कतिपय गीतका शब्द त बालबालिकाले बुझ्दै बुझ्दैनन्। शब्दभन्दा संगीत बढी भरिने हुँदा गीतको सन्देश गौण बन्न पुग्छ। 
 

प्रकाशित मिति: : 2021-04-05 07:01:00

प्रतिकृया दिनुहोस्