जुम्लाको चुनावी मैदानमा एलपी र नेत्रको टिम

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन आगामी चैत २५ गते हुँदैछ।

देशभर चुनावी सर्गर्मी बढिरहेको बेला जुम्लामा पनि दुईवटा उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन्। 

प्रेस युनियनका एलपी देवकोटाले नेतृत्वको गरिरहेको प्यानलमा प्रेस सेन्टर, प्रेस चौतारी, पत्रकार समाज, जनत्रकार मञ्च, प्रेस मञ्च लगायत संगठन छन् भने प्रेस सेन्टरका नेत्र बहादुर शाहीको नेतृत्वमा प्रेस चौतारी लगायत संगठनहरुको प्यानल घोषणा भइसकेको छ।

यहाँ दुबै उम्मेदवारहरुको क्रियाशीलता र पत्रकारिताको अनुभवलाई सारांशमा प्रस्तुत गर्न खोजिएको छ।

एलपी देवकोटा

जुम्लाको चन्दननाथ १० पण्डितबाडा जन्मिएका एल पी देवकोटा बच्चै उमेरदेखि पत्रकारितामा लागेका र पत्रकारिता विषय अध्ययन गरेर नै पेसामा रहेका साविकको जुम्लाको एक्ला पत्रकार हुन भने सम्बन्धित विषयमा स्नातकोत्तर गर्ने पनि एक्ला नै हुन।

उनले शिक्षाशास्त्र संकायमा पनि स्नातकोत्तर गरेका छन्।

उनी २०६० सालमा जिल्ला बाल क्लब संजालको अध्यक्ष भएर बालबालिकाको प्रतिभालाई उजागर गर्न बाल भित्रे पत्रिका प्रकाशन गर्न लागेका थिए। २०६१ सालमा अर्को बाल आवाज नामक मासिक पत्रिका संचालनमा ल्यएका थिए। जुन बेला प्रत्रिका प्रकाशन निकै कठिन थियो।

बाल्यकालमै काँडाको बाटो हिड्न खोज्नु उनको पत्रकारिता पेसाको पहिलो कडी बन्यो। त्यसपछि एल पी देवकोटा कलिलो उमेरमा पत्रकारिता गर्ने कर्णाली क्षेत्रबाट पहिलो व्यक्ति हुन पुगे।

२०६१ सालदेखि नै रेडियो नेपालबाट प्रशारण हुने नमस्ते नेपाल, आजको सन्दर्भ लगायतका कार्यक्रममा रेडियो रिपोर्टिङ गर्न सुरु गरेका थिए। 

२०६१ सालमा औपचारिक रुपमा रेडियो नेपालमा आवद्ध भए। 'त्यतिबेला अघिल्लो दिन बिहान ७ बजे आफ्नै आवाजमा समाचार रेकर्ड गरेपछि भोलिपल्ट विहान ५ बजे कार्यक्रम प्रसारण हुन्थ्यो', उनले भने, 'करिव एक एक वर्ष जति रेडियो नेपालको कार्यक्रममा आफ्नो आवाज रेकर्ड गराइ राख्थे।'

उनी अघिल्लो दिन रेकर्ड गराइराखेको आफ्नो आवाज भोलीपल्ट आफै सुन्दा अनौठो मान्थे। उनी भन्छन्, 'मेरा आफ्नै क्रियाकलापले मलाई सन्तुष्टि दिन थालेपछि  पत्रकारिता तर्फको रुचि पनि झन् बढ्दै गयो। अन्तत प्रवेशिका परीक्षा उतिर्ण गरेपछि मैले पत्रकारिता पेशालाई अंगाले।'

उनी २०६३ देखि संविधानसभा निवार्चनको समयअवधिमा नेपाल वान टेलिभिजनमा आवद्ध थिए भने जिल्लामा हुने गरेका गतिविधि चुनाव प्रचार, मतदान, मतगणनामा पनि प्रत्यक्ष सहभागी भएर र समाचार र सूचना सम्प्रेषण गर्ने क्रममा उनी परिपक्व हुँदै गए। 

उनले २०६५(०६६ मा एबीसी टेलिभिजनका लागि जुम्लाबाट रिपोर्टिङ गर्थे। ुत्यसबेला कर्णालीका समाचारले प्राथमिकता पाउन पाउँदैनथे। कर्णालीको पहुँच न्युज रुपसम्म थिएन। उनले भने, 'हामीले निरन्तर समाचार पठाउन थालेपछि मोफसललाई प्राथामिकता दिने काम भयो।'

२०६८ पछि मुलधारमा मिडियाका लागि कर्णाली क्षेत्रका सामग्री राम्रा मसला थिए। यही क्रामम कान्तिपुर मिडियामा आवद्ध उनी हालसम्म कान्तिपुर टेलिभिजन, रेडियोमा कान्तिपुर र कान्तिपुरको प्रिन्ट संस्करणमा समेत निरन्तर काम गरिरहेका छन्।

उनी स्वास्थ्य दर्पण मिडियाद्वारा प्रदान गरिने हेल्थ अवार्ड, रिपोटर्स क्लबको जिल्ला अध्यक्ष हुँदा उत्कृष्ट कार्य सम्पादन गरेको भनि सम्मानित भएका छन्। उनको पत्रकारितामा एक दशक पुस्तक प्रकाशित भएको छ।

'सानै उमेरदेखि पत्रकारितामा लागेको र पेशालाई नजिकबाट चिनेको हुनाले पनि म पत्रकार साथीहरुका समस्यालाई नजिकबाट बुझ्छु', उनले भने,'आसन्न निर्वाचनमा पत्रकारितामा रहेका साथीहरुले भोट दिएर विजयी गराएमा सदैब पत्रकारिताको विकास र उन्नतिका लागि लाग्नेछु।'

उनको प्यानलमा उपाध्यक्षमा खुला र महिलामा क्रमश राम नेपाली र गिता शाही, सचिवमा नौरते नेपाली, सहसचिवमा खुला र समावेशीमा गरि क्रमशः मधुराज न्यौपाने र भिम सार्की नेपाली रहेका छन्। त्यस्तै कोषाध्यक्षमा प्रकाश उपाध्याय लगायतको टिम छ।

नेत्र बहादुर शाही

जुम्लाको सिंजा बड्कीमा जन्मेका नेत्र बहादुर शाही २०६२ सालबाट पत्रकारितामा लागेका हुन। उनको पत्रकारिता पहिलो प्लेटफर्म कर्णाली सन्देश साप्ताहिक हो। 

२०६४ मा उज्यालो नेटवर्क आवद्ध उनी हाल सम्म रिपोर्टिङ गरिरहेका छन्। इतिहासमा पहिलो पटक जुम्लाबाट दैनिक पत्रिका संचालन गर्दा संस्थापक सम्पादक रहेका उनी हालसम्म पनि सम्पादक छन्।

'निकै कठिन परिस्थितिमा हामी दैनीक पत्रिका संचालन गरेका थियौं' उनले भने, '२०७१ सालका सुरुवाती दिन फलामका चिउरा चबाउनु बराबर थिए।' 

उनी विगत ६ वर्षदेखि गोरखापत्र दैनिकमा आवद्ध छन्। 

हाल उनी पत्रकारहरुको साझा संगठन पत्रकार महासंघ जुम्लाको उपाध्यक्ष छन् भने एक पटक सदस्य समेत रहेका थिए। उनीसँग २ पटक केन्द्रीय पार्सद रहेको अनुभव छ। 

२०७१ सालमा प्रेस काउन्सिल नेपालको क्रियाशिल पत्रकार पुरस्कारबाट पुरस्कृत उनी उज्यालो नेटवर्कको प्रदेश उत्कृष्ट प्रदेश सम्वाददाताबाट समेत सम्मानित भएका थिए। 

उनी राष्ट्रिय अपांग महासंघ पुर्व नेपाल केन्द्रीय सदस्य र अपांग पुस्थापना केन्द्रको पुर्व जिल्ला अध्यक्ष समेत रहेका थिए। यस अघि उनी २ वर्ष शिक्षण पेसामा समेत लागेका थिए।

उनले कर्णाली प्राविधिक शिक्षालयबाट सिएमए गरेका छन् भने पछि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्वास्थ्य क्षेत्रमा स्नातकोत्तर गरेका छन्। हाल उनी मध्यपश्चिम विश्वविद्यालयमा पत्रकारिता स्नातकोत्तर अध्ययन गरिरहेका छन्। 

'यसपालि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषाणा गरेको छु' उनले भने, 'पत्रकारहरुको हक हित मेरो एक मात्र प्राथमिकता हो।'

उनको प्यानलमा उपाध्यक्षमा खुला र महिलामा क्रमश भरत बोहोरा र दिलमाया शाही, सचिवमा मानदत्त रावल, सहसचिवमा खुला र समावेशीमा क्रमशः सागर परियार र रतन वर्ड रहेका छन् भने कोषाध्यक्षमा धनलाल बस्नेत लगायतको टिम छ।

प्रकाशित मिति: : 2021-04-01 10:09:00

प्रतिकृया दिनुहोस्