डोटीका नौवटै स्थानीय तहलाई बालश्रम मुक्त बनाउने अभियानको थालनी गरिएको छ।
उक्त अभियानमा यहाँका दुई नगरपालिका तथा सातवटा गाउँपालिकासहित नौवटै स्थानीय तह जुटेका छन्।
यहाँका स्थानीय तहमा बालबालिका विभिन्न उद्योग, कलकारखाना, होटेललगायत निर्माण कार्यमा अझै पनि श्रमिकको रुपमा राख्ने गरेको पाएकाले स्थानीय तह नै बालश्रममुक्त बनाउने अभियानमा लागेका हुन्।
यसरी बालबालिकालाई बालश्रममा राख्नेका विरुद्धमा कडारुपमा उत्रिने हिसाबले स्थानीय तह बालश्रममुक्त अभियानको थालनी गरिएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताए।
उनले भने, “जिल्लामा बालश्रमिकको सङ्ख्या बढेकाले त्यसको न्यूनीकरणका लागि हामीले सबै स्थानीय तहका जनप्रतिनिधि मिलेर बालश्रममुक्त अभियानको शुरुआत गरेका छौँ, बालश्रमिक राख्नेका विरुद्ध कडारुपमा उत्रिने छौँ।” युनिसेफको सहयोगमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा जिल्लामा बालश्रम मुक्त बनाउने अभियानको थालनी भएको हो।
उक्त अभियानलाई जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधिले सहयोग गर्ने एक्यबद्धता जनाएका छन्। दिपायल सिलगढी नगपालिकाको सभाहलमा जिल्लालाई बालश्रममुक्त अभियान बनाउने विषयमा एक कार्यक्रमको समेत आयोजना गरिएको थियो। रासस