“छोराको मुख हेर, मेरो आशा नगर। मसँग समय छैन,” तुरुन्तलाल पूर्वेसँग उनकी श्रीमती नीलमदेवी पूर्वेको १३ वर्षअघि टेलिफोनमा भएको यो संवाद नै अन्तिम हो।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी नीलमले श्रीमान्को कुरा सुनेपछि दोहोरो बोल्नै पाइनन्।
“हैन तपाईं के भन्नुहुन्छ, मैले पैसा बुझाइसकेँ,” नीलमले यति मात्र के भनेकी थिइन्, श्रीमान् बोले, “किन पैसा बुझाएको ? म बोल्न सक्ने अवस्थामा छैन, छोराको मुख हेर।”
तुरुन्तलालले यति भन्नासाथ फोन काटियो। नीलमले त्यही नम्बरमा फोन गर्ने प्रयास गरिन्, तर फोन लागेन। “त्यसपछि मेरो दिमागले काम गरेन, म चिच्याउन थालेँ,” नीलम सुनाउँछिन्।