‘खुवालुङ’को संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन्।

उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका-१ खुवालुङ क्षेत्रको मङ्गलबार भ्रमण गर्दै उनले विश्वमा रहेका नेपालीको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङलाई संरक्षण गरी आकर्षक केन्द्रका रूपमा विकास गरी पर्यटकको आगमन वृद्धि गराउने प्रतिबद्धता व्यक्त गरे।

जलयात्राका सम्बन्धमा विज्ञहरुद्वारा विस्तृत अध्ययन गरी खुवालुङ दायाँबायाँ पानीजहाज सञ्चालन गर्ने सम्बन्धमा काम भइरहेको बताउँदै उनले यस क्षेत्रका बृहत् विकास योजनाका लागि सङ्घीय सरकारले सहयोग गर्ने बताए।

मुख्यमन्त्री राईले सङ्घीय र प्रदेश सरकारले खुवालङ (ढुङ्गा) फुटाउने सम्बन्धमा कुनै निर्णय नगरेको प्रष्ट पार्दै यस सम्बन्धमा भएका गलत प्रचार र भ्रममा नपर्न नागरिकसँग आग्रह गरे।

उनले समृद्धिको आधार कोशी नदी भएको चर्चा गर्दै धार्मिक, संस्कृतिक र यस क्षेत्रका सम्पदाको उत्थान गरी जलयात्रालाई किमाथाङ्का पुर्याउने सम्बन्धमा आवश्यक अध्ययनलाई प्राथमिकता दिइएको जानकारी दिए।

प्रकाशित मिति: : 2021-03-31 07:33:00

प्रतिकृया दिनुहोस्