कागजात नमिल्दा रंगेली अस्पतालका कार्यालय सहयोगीलाई ११ लाख फर्काउन उर्दी 

तेजन खड्का

उर्लाबारी

निजामति कितावखानासँग रहेका कागजातमा जन्ममिति फरक पर्दा मोरङको रंगेली-८ का रामबहादुर बस्नेतले आफूले खाइपाइ आएको ३३ महिनाको तलब-भत्ता तथा २ वर्षको दशैं खर्च राज्यलाई फर्काउनुपर्ने भएको छ। 

रंगेली अस्पतालमा २०३८ सालदेखि कार्यालय सहयोगी पदमा कार्यरत बस्नेतको नागरिकता र अन्य कागजातमा जन्ममिति फरक छ। नागरिक लगानी कोष, रंगेली अस्पताल र निजामति कितावखानाको अभिलेखमा बस्नेतको जन्ममिति २०२० असार ३० गते उल्लेख छ। 

नागरिकतामा २०३५ असार ३० गते १८ वर्ष पुरा भएको उल्लेख छ। नागरिकताको मितिअनुसार उनी २०१७ सालमा जन्मिएको ठहर्छ। सोही अनुसार २०७५ साल असार ३० गतेनै सेवा निवृत्त भइसक्नुपर्ने हो। तर, बस्नेत अवकास हुनुपर्ने मिति भन्दा २९ महिना पछिसम्म सरकारी सेवा सुबिधा लिएर जागीर खाइराखेका थिए।

नागरिक लगानी कोष, निजामति कितावखाना र रंगेली अस्पतालले जारी गरेको परिचयपत्रमा भएको जन्ममितिका आधारमा आफूले काम गरिरहेको बस्नेत बताउँछन्। 

२०७२ साउन ६ गते रंगेली अस्पतालका मेसु डाक्टर बिधानचन्द्र झाले निजामति कितावखानालाई बस्नेतको अनिवार्य अवकासका विषयमा पत्राचार गरेका थिए।

५ वर्ष अघि पठाएको पत्रको जवाफ नआएपछि बस्नेत काम गरिरहेका थिए। तर, २०७७ चैत १० गते निजामति कितावखानाले रंगेली अस्पताललाई पत्राचार गर्दै निजामति सेवा नियमावलि २०५० को बाह्रौं संसोधनको नियम १२९ क (४) अनुसार २०७५ असार ३० गतेदेखि हालसम्म बस्नेतले उपभोग गरेको तलबऔभत्ता, बीमा थप,चाडपर्व खर्च, पोशाक भत्ता, कर्मचारी सञ्चय कोष थप, महंगी भत्ता, स्थानीय विशेष भत्ताका सुबिधा एकिन गरी हुन आउने रकम नगदै सरकारी कोषमा जम्मा गरी भौचर पठाउन भनेको छ।

पत्र आएपछि बस्नेतका नौ नारी गलेका छन्। उनले भने-‘मासिक तलब मात्र ३४ हजार ३ सय ७५ बुझ्दै आएको थिएँ। तलब र सबै सुबिधाको रकम बुझाउँदा ११ लाख रुपैयाँ माथि हुन्छ।’ 

अनिवार्य अवकासको पत्र पठाउँदा निजामति कितावखानाले जवाफ नपठाएकोले आफू नियमित काममा गएको उनले बताए।

यता रंगेली नगरपालिकाका लेखा अधिकृत रुपा सुनुवारले निजामति कितावखानाको गल्तीले समस्या सिर्जना भएको बताइन। तर, सरकारी कोषबाट तलब खाने जुनसुकै कर्मचारीले आफ्नो अवकासका विषयमा जानकारी राख्नुपर्ने उनको भनाई छ।

उनले भनिन् ‘हामीले अस्पतालमा भएका स्थायी कर्मचारीलाई बिभागबाट पठाएको तलब खुवाउने मात्र हो। हामीलाई कर्मचारीको विस्तृत विवरण थाहा हुँदैन।’

रंगेली अस्पतालमा मेसु रोहेन्द्र पाण्डेलगायत उच्च अधिकारी केही दिनयता बिदामा छन्। स्थानीय देवमणि कट्वालले भने-‘इन्टर्नसीपमा आएका डाक्टरले अस्पताल चलेको छ। प्रशासनिक कुरा उहाँहरूलाई थाहा हुन्न।’

बस्नेतको नागरिकता 

अस्पतालको परिचय पत्र 


नागरिक लगानी कोषको परिचय पत्र 

रङ्गेली अस्पतालले अनिवार्य अबकासका लागि पठाएको पत्र 

निजामति कितावखानाले रङ्गेली अस्पताललाई बस्नेतले २०७५ असार ३० पछि खाएको सबै सेवा सुबिधा सहितको रकम जम्मा गर्न निर्देशन दिइएको पत्र 

 

प्रकाशित मिति: : 2021-03-30 20:44:00

प्रतिकृया दिनुहोस्