चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रबाट उद्धार गरेर ल्याइएको ‘पुष्पा’ मानिसको अभिभावकत्वमा हुर्किँदै आएकी छिन्।
पुष्पालाई साढे १४ महिनाअघि चितवन राष्ट्रिय निकुञ्जमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को तमासपुर क्षेत्रबाट उद्धार गरेर ल्याइएको थियो।
माउसँग बिछोडिएकी दुर्लभ एकसिङ्गे गैँडाको बच्चा (केटी) पुष्पालाई गत वर्षको माघ ३ गते उद्धार गरिँदा उनी जम्मा १२ दिनकी थिइन्। चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) लगायतको टोलीले उनलाई तमासपुर क्षेत्रको दलदलबाट उद्धार गरेको थियो। दलदलबाट उद्धार गरेर माउसँग भेट हुने आशमा पुष्पालाई दुई दिन सोही ठाउँको सुरक्षित स्थानमा राखिएको भए पनि माउ लिन नआएपछि पुष्पालाई माघ ५ गते सौराहा लिएर आइयो।
पुस महिनामा जन्मिएकी र केटी भएकाले उनको नाम पुष्पा राखिएको हेरचाहमा खटिएका राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक लालबहादुर महताराले बताए। “उद्धार गर्दा १२ दिनकी पुष्पा अहिले करिब १५ महिनाको पुगेकी छिन्”, महताराले भने, “शुरुदेखि नै मैलेमात्रै हेरचाह गरेको भएर होला अरुसँग खेल्न र चर्न जान मान्दिनन्।” उद्धार गर्ने बेलामा पुष्पाको टाउको मात्रै बाहिर निस्किएको थियो भने बाँकी शरीर पूरै दलदलभित्रै फसेको महताराको भनाइ छ।
पुष्पाको प्राकृतिक घर चितवन राष्ट्रिय निकुञ्ज भए पनि उनी अहिले घरपालुवाजस्तै भएकी छिन्। पन्ध्र महिने चञ्चले पुष्पा अहिले एनटिएनसीको परिसरभित्रै खेल्ने तथा वरिपरि उम्रिएका हरिया घाँसपात खाएर आफ्नो पेट भर्ने गर्छिन्। “यहाँ वरिपरि चरेको आहारले मात्रै पुष्पाको पेट भरिँदैन”, महताराले भने, “पुष्पालाई दैनिकरूपमा अलिपर लगेर चराउने गरेको छु, यसका साथै उनलाई एक किलो कुँडो तथा अन्य खाना पनि पकाएर खुवाउने गरेको छु।”
खोरमा रात बिताउने पुष्पा बिहानै खोरबाट बाहिर निस्किएर चर्न थाल्छिन्। “केही बेर चरेपछि उनलाई पानी खुवाउन तथा एकछिन हिँडडुल गराउन बिहान ११ बजेतिर नजिकैको ढुङ्ग्रेखोलामा लिएर जान्छु”, महताराले भने, “ढुङ्ग्रेखोलामा पानी खाएर त्यहाँ वरिपरि चरेपछि दिउँसो ३ बजेतिर फेरि एनटिएनसीमा लिएर आउँछु।” पुष्पालाई शुरुआती अवस्थामा दूध, सक्खर खुवाउनुपरेको भए पनि अहिले कुँडो र बन्दाजस्ता आहार खुवाउने गरिएको महताराको भनाइ छ।
पुष्पाको खानपानका लागि अहिले दैनिक ७०० खर्च हुने महताराले बताए। उनको हेरचाह र पालनपोषणमा अहिलेसम्म तीन लाख ५० हजार खर्च भइसकेको छ।
पुष्पालाई केही महिना पहिलो जङ्गल लगेर छाड्ने कुरा उठेको भए पनि अझै एक वर्ष एनटिएनसीमै राखिने भएको छ। पुष्पाले आफूलाई हिङ्स्रक जनावरबाट बचाउन सक्ने भएपछि मात्रै उनलाई प्राकृतिक बासस्थानमा लगेर छाड्ने तयारी भएको महताराले जानकारी दिए। रासस