“सिया निकले अवधवा के ओर होरीया खेले राम लला”
“राम खेले होरी, लछमन खेले होरी, गढ लंका में रावन खेले होरी..होहो..हो...”
ई राम रसका फगुवाका पारम्परीक होरीका साथै विभिन्न आधुनिय गीतको रसमा तराइ मधेसका मानिस आजका दिन रमाउदै छन्।
असत्य माथि सत्यको विजय भएको मान्यताका साथ आपसी सद्भाव र भाइचारा बढाउने पर्व हो, होली। छठ पछिको दोस्रो ठुलो चाडको रुपमा चिनिने होलीको रंगमा अहिले मधेश रंगीएको छ। मधेशमा आज फगुुवाका दिन घरका कुल देउताको विधिवत पुजा गरि आफु भन्दा ठुला बडाको आशिर्वाद लिइसकेपछि एक आपसमा रंग अबिर लगाउने परम्परा रहेको छ।
प्रेम र सद्भावको पर्वको रुपमा चिनिएको ‘फगुवा’, ‘होली’ अर्थात फागुको विभिन्न धार्मिक तथा सांस्कृतिक पक्ष रहेका जानकारहरु बताउँछन्। होली पर्वको दुई वटा विशेषता छ, पहिलो यसका विशिष्ठ गीतसंगीत र दोस्रो परिवार तथा गाउँ समाजभित्र एकआपससंग मिलेर मनाउने क्रममा बर्षभरीको रिषराग बिर्सेर रंग अविर साट्ने, मिठोमसिनो खाने र रमाइलो गर्ने परम्परा।
मधेसका समुदायमा मनाईने जतिपनि पर्वहरु छन्, ती सबै पूजाको रुपमा मनाईन्छ। तर, होली फगुवा एकमात्र यस्तो पर्व हो, जसलाई यस समुदायमा मनोरञ्जन, खानपान र रमाईलो गर्नका लागि मनाउने गरिन्छ। चैतको प्रतिपदाका दिन होली मनाईन्छ। वषन्त ऋतुको मध्यमा पर्ने भएकोले यस पर्वको आफ्नो छुट्टै पहिचान छ। आपसी प्रेम र आत्मीयता बढाउनु यो पर्वको खास विशेषता हो। वर्ष दिनको रिस पनि यसदिन बिर्सेर रगं अबिरको साथ नयाँ सम्बन्धको सुरुवात गरीन्छ।
लोक संस्कृतिविद् उमाशंकर द्विवेदी “दधिची”का अनुसार वषन्त ऋतुको मध्य पर्ने भएकोले यसबेला पूरा प्रकृति नवसृजनको क्रममा हुन्छ। रुखहरुमा नयाँ पालुवा, मुजा तथा चिचिलाहरु पनि लागेको देख्न सकिन्छ। प्रकृति अन्तर्गत मानव जातिपनि परेको हुनाले मानवको मनमापनि नवसृजनाका लागि उमंग र उत्साह हुन्छ। पौराणिक मान्यताअनुसार पनि यसको छुट्टै महत्व छ। हिरण्यकश्यपकी बहिनी होलीका जुनकी रक्षसी हुन्छ। जसलाई बरदान प्राप्त हुन्छ, आगोबाट कहिल्यै नजल्ने। त्यसै बरदानको गलत फाईदा उठाई आफ्नो भाईको छोरा भदई विष्णुभक्त प्रल्हादलाई मार्ने मनसायले आपूmसँगै आगोमा जलाउन खोज्दा उल्टै प्रल्हाद बचे र डुंगा रक्षसी होलीका त्यही आगोमा जलेर खरानी भई। त्यसैले पनि फागु पूर्णिमाका दिन मधेसको समुदायमा विशेष विधी पूर्वक होलिका दहन गर्ने परम्परा छ। असत्यमाथि सत्यले विजय प्राप्त गरेको हुनाले होलीका दहनको भोलीपल्ट खुशीयालीको रुपमा रंग अविर लगाई मिठो परिकार खाएर खुशीयाली साटासाट गर्ने परम्परा छ। यस्तै होली फगुवालाई मधेसको समुदायमा नयाँ बर्षको रुपमा मनाउने पनि चलन छ। त्यहि कारण होलीका दहनको दिन सम्वत जलाएको पनि भनिन्छ। अर्थात पूरानो सम्वतलाई जलाई नयाँ सम्वतको सुरुवात गरिएको हो। फागुनको शुल्क पक्ष पुर्णीमाकोदिनमा हुने होलीमा सामेल हुन परदेश गएकाहरु केही दिन अगावै आइपुगेका हुन्थे। तराई क्षेत्रमा बाहिर काम गर्न परदेश जाने भनेर अधिकांश मानिसहरु भारतका ठुला शहर जाने भएपछि फर्किने मुख्य समय भनेकै होली र छठ हो।
घरपरिवारमा मिठो परिकार बनाई मिलिजुली खाएर रंग अविर खेली दिउँसोपख आफ्नो समुदायमा रंग खेल्न समूहमा हरेक घर घरमा गएर परम्परिक होरी गीत गाउन चलन छ। घरका मालिकले पनि ती टोलीलाई आदरका साथ स्वागत गरेर बदाम, नरिवल, छोकडा, सुपारी जस्ता मसालासहित रंग र अविर लगाएर प्रेम पूर्वक बिदा गर्थे। टोलीमा आउनेहरुले सदैव आनन्द रहोस तिम्रो घर आँगनमा, खुशीयाली छाओस् भन्दै होरी गीत गाएर फर्किन्छन्।
यस पर्वमा गीत संगीतको निकै महत्व रहेको छ। पर्सा बहुअरीका ७५ वर्षीय आसमान यादव होरीको पारम्परीक गीत “सीया जानकीके ले गईले चोर दुनु भईया रोए हो कदम तर” जस्ता गाएर होरी फगुवाका अनेकन रसका गीतहरु रहेको गाएर सुनाउँछन। यसदिन दिनभरी पारम्परीक होरीको गीत गाई सकेपछि बेलुकीपख चैतावर गाएर रंग आकाशमा उडाई फगुवाको समाप्ती गर्ने परम्परापनि रहेको छ।
‘होरी’ अर्थात होली विशेषको लोकभाकाको गीत–संगीत। लोक भाकाको होरीको धुनमा दुई वटा ढोलक (मधेशको ठुलो मादल) एउटा डम्फा र एक जोर झाल एक जोर मन्जिरी चाहिने लोक संस्कृतिविद् द्विवेदी भन्छन्–“रामायणका मान्यताहरुलाई लोकव्यवहार राखेर भाकाहरु तयार गरिएको पाइन्छ। होलीको दिन समूहमै भएर एकपछि अर्को गरी घरघरमा पुग्दै गाउँभरी होरी गाउने परम्परा हो। तर, बुढापाकाहरुको संख्या कम हुदै जादा नयाँ पुस्ताले यसलाई ग्रहण गर्न सकिरहेका छैनन्।”
हरेक समुदायको पहिचान त्यस समुदायमा अपनाईने रीति संस्कृतिले झल्काउछ। पुरानो पुस्ताले हस्तान्तरण गरेको संस्कृति नयाँ पूस्ताले जगेर्ना गर्नुपर्छ। नत्र समयको परिवर्तनसँगै आफ्नो पहिचान पनि गुम्ने डर रहेका उनी भन्छन्। फागुका दिन बर्षौ देखिका रिस भुलाएर एक अर्काको घर घरमा गई रगं अबिर होली खेल्ने चलन छ। शहर बजार यि परम्परा कमि देखीपनि गाउँघरमा छिमेकिको घर घरमा गएर रंग अबिरका साथ फगुवइ दिने चलन आज पनि छ। फगुवाका दिन विभिन्न जातजातिका मानिस सामुहिक रुपमा खानपिन गरी रमाईलो गर्ने परम्रा रहेको छ। म नै ठुलो हुँ भन्ने भाव नराखी एक अर्कालाई रंग लगाइ बधाइ दिने यस पर्वको खास विशेषता हो। जसकारण साथीभाइमा आत्मियता बढ्ने र मन भित्रका रिस अहंकारको अन्त्य हुने गरेको पाइन्छ।
फगुवामा दुध, जौ, नरीवल, छोकडा र सुकमेलको मिश्रणमा कुश्मा तयार गरी सेवन गर्ने चलन छ। जसलाइ पारम्परिक ठंण्डाइ पनि भनिन्छ। जुन स्वास्थ्यका लागी निकै पोषिलो मानिन्छ। मौषम अनुसार पेटलाई सीतल बनाउनका लागी कुशमा पिउने गरिन्छ। तर अहिले रेडिमेड पेय पदार्थ पिउने चलन बढ्दै गएको छ। जसको सेवन नगर्न चिकित्सकहरु बताउँछन्।
होली पर्व संसार भरी एकै दिन मनाइने भएपनि नेपालमा भने दुई दिन मानाईन्छ। पहाडि समुदायमा होलिका दहनका दिन फगुवा मनाइन्छ भने मधेसी समुदायमा त्यसको भोली पल्ट मनाइन्छ।
होली पर्वको इतिहास
होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो। हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए। हिरण्यकश्यपुका छोरा प्रह्लाद बिष्णुका परम भक्त थिए। आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन। त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएका थिए। एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्। दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन। होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ। भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ।
होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ। नारद पुराण र भविष्य पुराण जस्तो प्राचिन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ।
प्राध्यापक तथा समाजसेवी सुस्मा तिवारीका अनुसार आजपनि नयाँ पुस्ताहरुले रमाईलो गरी होली पर्व मनाउने मनाई रहेका छन्। तर परम्परागत रुपमा मनाउने चलन हराउदै गएको छ। अहिलेको होलीमा तडक भडक बढि भएकाले खर्चालु पर्वको रुपमा चिनिन थालिएको छ। पहिले प्राकृतिक रगंहरुको प्रयोग गरिन्थ्यो भने अहिले केमिकल्स् युक्त रगंको प्रयोग भईरहेको छ। जुनकी स्वास्थ्यको लागी हानिकारक छ।
केहि वर्षअघि फगुवाको स्वरुप फेरिदै गएर युवाहरु अशलिलता तर्फ गईरहेको देखिएपनि अहिले आएर सचेत भएको देखिन्छ। स्थानीय प्रहरी प्रशासन कडा नियमका साथ निगरानी गर्दा अहिले सडकमा मदिरा खाएर होहल्ला गर्नेको सख्यामा कमि आएको देखीन्छ। अस्लिल गितहरुमा रमाउने युवाहरु अब सचेत हुदै गएको पाइन्छ।