हात्तीको आक्रमणमा परी वृद्धको मृत्यु

विजय साह

जनकपुर

हात्तीको आक्रमणमा परि धनुषाको मिथिला नगरपालिका ७ खप्तरी टोलमा एकजनाको मृत्यु भएको छ।

खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको हो।आइतबार राति ११ बजे घरमा सुतिरहेको अवस्थामा मगरलाई हात्तीले आक्रमण गरेको थियो।

सुतिरहेको अवस्थामा हात्तीको आक्रमणमा परेका मगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। उनको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जानकारी दिए। 

खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारणाबीच भागदौड मच्चिएको थियो। गाउँ पसेका हात्तीले गाउँको दस वटा घरमा क्षति पुर्याएको छ। स्थानीय मेघ बहादुर विकले जङ्गली हात्तीले दस घरको बेरा भत्काएर क्षति पुर्याएको बताए।

हात्तीले घरमा भएका चामललगायत अन्न खाइदिएको छ। गाउँलेहरुले जताततै आगो बालेर हो–हल्ला गरेपछि हात्ती पुनः जङ्गल प्रवेश गरेको थियो।

गाउँ नजिकै सामुदायिक वन र राष्ट्रिय वन रहेको छ। जङ्गली हात्तीको आक्रमण परी मृत्यु भएका पदमबहादुरको घर दुई बर्षअघि पनि हात्तीले भत्काईदिएको थियो। 

प्रकाशित मिति: : 2021-03-29 08:06:00

प्रतिकृया दिनुहोस्