सरिशा अछामी
काभ्रेपलाञ्चोक भकुण्डे घर भएकी २४ वर्षीया मञ्जु (नाम परिवर्तन) दुई वर्षदेखि आफ्ना प्रेमीसँग काठमाडौंमा ‘लिभिङ टुगेदर’ (सँगै बस्ने) गर्छिन् । काभ्रेपलाञ्चोक पनौती नगरपालिका घर भएका उनका २६ वर्षीया प्रेमी श्याम (नाम परिवर्तन) सँग मञ्जुको चिनजान काठमाडौं आउनुअघि नै काभ्रेपलाञ्चोकमै भएको थियो । उनीहरूको चिनजान बिस्तारै प्रेममा बदलियो । श्याम तीन वर्षअघि होटलमा काम गर्न काठमाडौं आएका थिए । गहिरो प्रेम भएपछि श्यामले मञ्जुलाई पनि काठमाडौं बोलाए, कुनै काम खोजौँला भनेर ।
‘शिक्षित नभएका कारण राम्रो जागिर गर्न सकिनँ । यहाँ आफन्त पनि थिएनन् । खान–बस्न नै समस्या थियो,’ मञ्जु भन्छिन्, ‘त्यसैले ऊसँग बस्दा सुरक्षित हुने ठाने, गलत लागेन । आफूलाई माया गर्ने मान्छेसँग बस्न के गलत भयो र ?’
अहिले उनीहरू दुवैजना होटलमा काम गर्छन् । मञ्जुको मासिक तलब ८ हजार रुपैयाँ छ भने श्यामको १० हजार । यही कमाइले उनीहरूलाई काठमाडौंमा बस्नखान पुगेको छ । मञ्जु भन्छिन्, ‘एक्लै बस्दा आफ्नो तलबले कोठाभाडा र खान पनि धौ धौ हुन्थ्यो ।’
काठमाडौंमा जीविकोपार्जनबाहेक उनीहरूको अर्को समस्या पनि छ, जात । मञ्जु कथित तल्लो जात (सार्की) की हुन् भने श्याम कथित माथिल्लो जात (नेवार) का । ‘घर–परिवारले स्वीकार गर्दैनन् भन्ने डर छ । यसै पनि हामी घरपरिवारदेखि लुकिछिपी नै बस्नुपथ्र्यो,’ मञ्जु भन्छिन्, ‘हामी यहाँ सँगै बसेको हामी दुवैको परिवारलाई थाहा छैन । कोर्ट म्यारिज गरेपछि मात्र घरपरिवारलाई जानकारी गराउँछौँ ।’
मञ्जु आफूहरूको प्रेम सफल हुनेमा ढुक्क छिन् । अहिले काठमाडौंको घरबेटीलाई उनीहरूले आफूहरू श्रीमान्श्रीमती भएको बताएका छन् ।