फाल्गुन शुक्लपक्षको अष्टमी तिथिलाइ होलाष्टक भनिन्छ तथा होलिकोत्सव उल्लासपूर्ण वातावरणमा यसैदिनदेखि शुरुवात हुन्छ।
भोजपुरी भाषी क्षेत्रमा यसैदिन देखि गांउको नजिकै खुल्ला चउरमा होलिका–दहनकोलागि आवश्यक पर्ने इन्धनको रुपमा पात–पत्कर, खर, काठ जम्मा गर्ने गरिन्छ जसलाइ भोजपुरी भाषामा ‘सम्हत बिटोर’ भन्दछन। पाल्गुन शुक्ल पक्षको पूर्णिमाको राती भद्राको अन्त्यपछि पण्डितज्यूद्वारा ढुण्ढा वा होलिका नामक राक्षसीको विधिपूर्वक पूजा अराधना गरेर दहन गरिन्छ।
गांउका गृहस्थहरुले आफनो खेतमा रहेको दलहनी बाली जस्तै अरहर, चना,केराउ,मटर, गहुं, जौ आदिका बालाहरुलाइ मुट्ठा बनाएर त्यस आगोमा झोसेर पोल्दछन। गांउभरिका मानिसहरु होलिकाको वरिपरि गोल बनाएर बसेका हुन्छन तथा विभिन्न अश्लिल गालीहरुको उच्चारण गरिरहेका हुन्छन। आगोको राप निभ्नलागेपछि फिलिङ्गोहरुलाइ लातीले मिच्दै झन अश्लिल गालीहरुको उच्चारण गर्दै परस्पर एकअर्काको जीउमा त्यसको खरानी मल्दछन तथा घर फर्कदा फागुको गीत गाउदै फर्किन्छन। त्यस्तो गीतलाइ भोजपुरी भाषामा ‘होरी’ वा ‘फगुवा’ भन्दछन।
भोजपुरी भाषी क्षेत्रमा फागुन पूर्णिमाको राती होलिका दहन तथा चैत्रको पहिलो दिन होली वा रङ्गोत्सव मनाउने गरिन्छ तथा नेपालको अन्य क्षेत्रहरुमा भने फागुन महिनाको पूर्णिमाको दिन नै रङ्गोत्सव मनाएर होली पर्वको समापन हुने परम्परा रहेको छ। वस्तुतः चैत्रको एकमको दिन देखि नै नववर्ष प्रारम्भ भएको जनधारणा रहेको पाइन्छ। भोजपुरी भाषाको ‘सम्हत फूंकाइल’ शब्दले वास्तवमा संवत डढाउनु भन्ने भाव बोध गराउदछ। बितेको संवतलाइ विदाइ गरेर नयां संवतको प्रारम्भ भएको प्रतीकको रुपमा होलिका दहनलाइ लिइएको पाइन्छ।
ज्योतिषीहरुले होलिकादहनकोलागि तीनवटा कुराको विचार गर्दछन। होलिका दहन पूर्णीमा तिथिमा हुनु पर्दछ, अर्को होलिका दहन रातीको समयमा हुनु पर्दछ, तेश्रो भद्राको अन्त भइसकेको हुनुपर्दछ। यस वर्ष चैत्र १५ गते आइतबारको दिन पूर्णीमा तिथि परेको छ तर दिनको ने.स्टे. समय १÷४८ बजेसम्म भद्रा रहन्छ, यस्तो स्थितिमा हाम्रो धर्मशास्त्रले निशामुख–प्रदोषकालमा होलिका दहन गर्ने व्यवस्था गरेको छ। तद्अनुसार रातको १२÷५५ को मध्यमा होलिकादहनको मुहूत्र्त परिरहेकोछ।भद्रापुच्छे होलिकादीपनम्...भद्रायास्तृतीयपादांते घटीत्रयं पुच्छम्। अतः यस वर्ष होलिकादहन सोही समयमा हुनु पर्दछ। होलिका दहन गर्ने बेला गृहस्थहरुले आफ्नो बालीको बालालाइ झोसेर पोल्ने परम्पराभित्र आफूले ठूलो परिश्रमका साथ रोपी हुर्काएको अन्नबाली कृतज्ञताकासाथ अग्निलाइ अर्पण गरेको गुढार्थ लुकेको हो कि जस्तो लाग्दछ। अन्नको बाला झोसेर पोली पकाएको मुट्ठालाइ गोठमा लगेर ढोकाको अगाडी घरको छानामा सिउरेर राख्ने परम्परा रहेको छ। त्यस दिन पछि भोजपुरी समाजमा दलहनी अन्नबालीलाइ आगोमा झोसेर पोली पकाउन खान शुरु हुन्छ जसलाइ भोजपुरी भाषामा ‘होरहा’ भन्दछन।
होलिका दहनको समयमा अश्लिल गालीको उच्चारणको पछाडी पनि केहि प्रतिकात्मक तथ्यहरु लुकेर रहेको हुन्छ। मानिसको चित्तमा विभिन्न भावनाहरु अवचेतन मस्तिष्कमा लुकेर बसेका हुन्छन जस मध्ये केवल एउटा प्रेम (दया, माया, करुणा) बाहेक अन्य भावनाहरु नकारात्मक हुन्छन। नकारात्मक भावनाहरु स्वच्छन्द निकाशको अवसरको प्रतिक्षामा अनवरत लागिरहेका हुन्छन। अन्य समयमा त्यस्ता भावनाहरुको सहज÷असहज निकाश भएमा स्थिति असमान्य वा असमाजिक हुन पुग्दछ।
यस्तो स्थितिको निवाणार्थ नै होलिका दहनको समयमा मानवीय नकारात्मक भावनाहरुको स्वच्छन्द निकाशकोलागि अश्लिल गालीको उच्चारणको समय बनाइएको हो कि जस्तो पनि लाग्दछ। धर्मशास्त्रहरुमा पनि यस बारेमा उल्लेख रहेको पाइन्छ।
धर्मसिंधुमा भनिएको छ–होलिकां त्रिः परिक्रम्य शब्दैर्लिंगभगांकितैः। तैः शब्दैश्च तु सा पापा राक्षसी तृप्तिमाप्नुयात्।
अर्थात् होलिकाको तीन चोटी परिक्रमा गरेर अश्लिल शब्दको उच्चारणले होलिका राक्षसीलाइ अपूर्व तृप्ति प्रदान गर्द छ र ऊ जनमानसलाइ आशिर्वाद दिन्छे। होलिका दहनको समयमा अश्लिल गालीको उच्चारण आवश्यक भएको कुरा श्यामा चन्द्रिकामा भनिएको छ–लिंगनाम सदानंदो भगनाम सदारतिः। लिंगगीतिर्महाप्रीतिः भगगीतिर्महासुखम्। यस प्रकारका अश्लिल गालीको उच्चारण गर्दा मानिसको मनको भडासले सहज निकास पाउदछ तथा मन हलुंगो भएर महासुख प्राप्त गर्दछ।
होलिका दहन गरेर घरमा आइसकेपछि मानिसहरुले होलिकाको प्रसादको रुपमा मालपूवा खाएर होलिको शुरुवात गर्दछन। मिष्टान्न नै हाम्रो यावद धर्मको प्राण हो।
सम्पूर्ण विश्वलाइ नै माधुर्यले ओत–प्रोत गरि दिनकोलागि यजुर्वेदले गाउदछ–मधुवाता ऋतायते , मधु क्षरंति सिंधव। माध्वीर्नः सन्तु औषधीः, मधुनक्त मुतोषसो। (यजु.१३/२७) मधुरेण समापयेत् भन्दा पहिले अथर्ववेदको यो ऋचा हेरौं–जिह्वया अग्रे मधु मे जिह्वामूले मधूलकम्, मधुवन्मे निक्रमणं मधुमन्मे परायणम्, वाचा ददामि मधुमत् भूयांस मधुसंदृशम्। (अथर्व. १/३४/२–३)। अर्थात् यावज्जीवन जिब्रोमा मधुरता रहोस्, मिठो खाउं, मिठो बोलौं,मिठास लिदै गरौं, मिठास दिदै गरौं।