खर्च हुन नसक्ने बजेट शीर्षक र रकमको विवरण दुई साताभित्र पेश गर्न मुख्यमन्त्रीको निर्देशन

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले खर्च हुन नसक्ने बजेट शीर्षक र रकमको विवरण दुई साताभित्र पेश गर्न मन्त्रालयहरुलाई निर्देशन दिएका छन्।

प्रदेश विकास समस्या समाधान समितिको बैठक एंव दोश्रो चौमासिक प्रगति समीक्षा बैठक समापनमा बोल्दै उनले खर्च गर्न नसक्ने शीर्षकको बजेट काम भएर रकम अभाव भएका कार्यक्रममा खर्च गर्ने गरी अघि बढ्ने बताए। 'कतै बजेट खर्च नहुने कतै बजेट अभाव हुने प्रवृति अन्त्य हुनुपर्छ'-उनले भने।

उनले विकास आयोजनाहरुको डिपिआर तयार गर्दा आवश्यकता, बजेटको क्षमता र औचित्यका आधारमा तयार गर्न निर्देशन दिए। अस्पताल, रंगशाला, सडक लगायत विकास आयोजनाहरुको डिपिआर तयार हुने तर बजेटले नभ्याउने प्रवृतिको अन्त्य हुनुपर्ने उनले बताए। उनले बहुवर्षीय आयोजनालाई बजेट अभाव हुन नदिने गरी मन्त्रालयहरुले प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताए।

आर्थिक वर्षको अन्तिम चार महिना बजेट कार्यान्वयनको महत्वपूर्ण समय भएकाले कामको गति अझै बढाउन र अनुगमनमा जोड दिन उनले आग्रह गरे। 'अनुगमनमा जाँदा स्थानीय सञ्चारमाध्यमलाई अनिवार्य जानकारी दिनुस्,यसो गर्दा बढी जवाफदेही र जिम्मेवारी बन्न बल पुग्छ, नागरिकले विकास आयोजनामा भइरहेको काम बारे पनि जानकारी पाउँछन्'-उनले भने।

उनले बजेट खर्च गर्ने क्षमता बढाउन र स्थानीय तहको क्षमता बढाउने गरी तालिम कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए।

प्रकाशित मिति: : 2021-03-26 20:58:00

प्रतिकृया दिनुहोस्