एसियाली नागरिकमाथिको आक्रमणको विरोधमा अमेरिकामा प्रदर्शन

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकाको एट्लान्टामा गत साता भएको आक्रमणका पीडितलाई न्यायको माग गर्दै जर्जियामा सयौं एसियाली नागरिक विरोध प्रदर्शनमा उत्रिएका छन्।

मंगलबार तीन वटा ‘स्पा’मा भएको गोलीबारीमा ८ जनाको मृत्यु भएको थियो। मृतकमध्ये ६ जना कोरियाली नागरिक हुन्।

उक्त घटनाको विरोधमा शनिबार मानिसहरुले ‘घृणा एक भाइरस हो,’ ‘एसियाली नागरिकप्रतिको घृणा बन्द गर’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। 

प्रहरी उक्त घटनामा संलग्न रहेको आरोपमा एक २१ वर्षीय श्वेत व्यक्ति रोबर्ट आरोन लङलाई हिरासतमा लिएको छ। स्थानीय प्रहरी अधिकारीकाअनुसार लङले आफू ’यौन दुर्व्यसन’ मा परेको दाबी गरेका छन्। उनीबाट एउटा ह्यान्डगन बरामद गरिएको थियो भने पक्राउ गर्दा उनले प्रतिरोध गरेका थिएनन्। 

अमेरिकाको कतै कतै मसाज पार्लरमा यौन व्यापार हुने गरेको छ। तर, स्थानीय अधिकारीहरूका अनुसार आक्रमण भएको स्थानमा त्यस्तो कुराको कुनै सङ्केत देखिएको छैन।  आक्रमणको कारण खुलेको छैन। तर, पछिल्ला महिनामा अमेरिकामा एसियाली मूलका मानिसमाथिको हिंसा बढ्दै गएको छ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस फैलनुमा चीन मुख्य दोषी रहेको विवादास्पद अभिव्यक्ति दिएपछि चिनियाँ र कोरियाली नागरिकमाथि आक्रमण बढेको हो। 

एन्टी हेट डिफेमेसन लिगका अनुसार सन् २०१९ मा रंगभेद, जातिवाद र अन्य घृणाको २७ सय २४  घटना भएका थिए। तर, २०२० मा ५१ सय २५  घटना भएको थियो।  १९ को तुलनामा यो संख्या झन्डै दोब्बर हो। 

अमेरिकामा सबैभन्दा बढी आक्रमणहरू चिनियाँहरु माथि भएको छ। बिगतको रेकर्ड हेर्दा ४० प्रतिशत आक्रमण चिनियाँमाथि देखिन्छ। यता कोरियनमाथि १५ र फिलिपिन्समाथि ८ प्रतिशत आक्रमण भएको देखिएको छ।

न्युयोर्कमा मार्च र डिसेम्वरको बीचमा दक्षिण एसियाली नागरिकमाथि तीन हजारभन्दा बढी आक्रमण भएको छ। 

न्युयोर्कमा मात्रै २०१९ मा १० गुणा बढी आक्रमणहरू भएका छन्। यी आक्रमणका अधिकांश पीडितहरू चीन, ताइवान र थाईल्याण्ड मूलका नागरिक हुन्। 

आन्दोलनमा सहभागीहरुले एसियाली मूलका नागरिकहरुलाई अहिलेसम्म मौन बस्दै आए पनि अब भने समय परिवर्तन भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रबार एसियाली–अमेरिकी नेताहरुसँग भेटेका थिए। भेटको क्रममा उनले  रंगभेदका घटनाविरुद्ध चुप रहनु अपराध सरह रहेको बताएका थिए। 

भेटमा रंगभेद नराम्रो विष रहेको र त्यसले देशलाई लामो समयसम्म घाइते पार्ने भन्दै अपराधका घटनाविरुद्ध खुलेर बोल्न उनले एसियाली(अमेरिकन नेताहरूलाई अपिलसमेत गरेका थिए।

प्रकाशित मिति: : 2021-03-21 13:45:00

प्रतिकृया दिनुहोस्