कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको छ।
यहाँको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा पिसिआर शुल्क बढी असुलेको भन्दै मुद्दा चलाइएको हो।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार शिक्षण अस्पताललाई १८ लाख र स्टार अस्पताललाई पाँच लाख धरौटी माग गरिएको थियो।
ती अस्पतालका प्रतिनिधि धरौटी जम्मा गरी तारेखमा रिहा भएका छन्। शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा सुप्रभात श्रेष्ठ र स्टार अस्पतालका अध्यक्ष किशोरकुमार महर्जन धरौटी जम्मा गरी संस्थागत तारेखमा रहेको उनले जानकारी दिए।
शिक्षण अस्पतालले यहाँ सङ्कलन गरेको नमूना स्टार अस्पताल पठाउने गरेको थियो। सरकारले पिसिआर शुल्क दुई हजार तोकेकामा ती अस्पतालले तीन हजार शुल्क लिएपछि प्रशासनले कारवाही गरेको हो।
ती दुई अस्पतालविरुद्ध यही चैत ४ गते मुद्दा पेश गरिएको थियो। प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार नमूना परीक्षण गरेका आधारमा धरौटी माग गरिएको हो।