कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले निर्माण गरेको योजना कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको बताएका छन्।
प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना (२०७६/०७७-०८०/०८१) सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री शाहीले सरकारले कर्णालीको दीर्घकालीन सोच, लक्ष्य र उद्देश्य पूरा हुने गरी पञ्चवर्षीय योजना निर्माण भएको बताए।
सरकारले मात्र केही गर्न नसक्ने भन्दै उनले यसमा सबै वर्ग, क्षेत्र र तहको सहयोग अपरिहार्य रहेकोप्रति जोड दिए।
“पञ्चवर्षीय योजनाको प्रभावकारी कार्यान्वयनले कर्णालीको मुहार फेर्ने अपेक्षा गर्न सकिन्छ”, उनले भने, “योजना निर्माणमा अनवरत खटिने उपाध्यक्षसहितको योजना आयोगको टोली र विज्ञ महानुभावप्रति कृतज्ञता प्रकट गर्दछु।” रासस