गत २० जनवरीमा बेलायतको म्यानचेस्टरस्थित वाल्मर स्ट्रिटमा एकाएक चार वर्गमिटरको खाडल बन्यो । पहिले त्यो खाडलले एउटा कार निल्यो र केही घण्टापछि दुई तले भवन । ४ फेब्रुअरीमा एक स्कटिस बटुवाकै सामुन्ने डाइसार्ट र वेस्ट वेमिसबीचको समुद्री तट भासियो । र, मार्च पहिलो साता कुम्ब्रियामा क्वाड बाइक हाँक्दै गरेका एक कृषक विशाल खाडलमा भासिए । अग्नि नियन्त्रण दलले उनको उद्धार गरेर अस्पताल पुर्याए ।
पछिल्ला दिनमा बेलायतमा जमिनमा धाँजा फाटेका उदाहरण हुन् यी । जमिन फाट्ने र त्यसमा पर्ने वस्तु खाडलमा भासिने घटना विश्वभर भइरहन्छन् । विज्ञहरूका अनुसार विश्व तापमान शुन्य दशमलव एक डिग्री सेल्सियस वृद्धि हुँदा यस्ता खाडलको संख्या एकदेखि तीन प्रतिशतले बढ्छ ।
८ जनवरी बिहान साढे ६ बजे नेपल्समा त्यस्तै विशाल खाडल देखापर्यो । २० मिटर गहिरो, ५० मिटर चौडा खाडल ‘अस्पेडेल डेल मारे’ अस्पतालको कार पार्किङमा देखापरेको थियो । हतारमा त्यस क्षेत्रको बिजुली आपूर्ति बन्द गरियो । र, कोरोना संक्रमितको उपचार अस्थायी रूपमा बन्द गर्नुपर्यो ।
इटालीको नेपल्समा जमिनमा यस्तो खाडल देखापर्नु सामान्यजस्तै भएको छ । सन् १९१५ देखि २०१० बीचमा यो नगरमा एक सय ९० भन्दा बढी खाडल देखापरेका थिए । र, त्यहाँ बर्सेनि दुईदेखि चारवटा खाडल देखिन्छन् ।
नेपल्सको ऐतिहासिक केन्द्रमा भर्खरै गरिएको एउटा अध्ययनले नौ ऐतिहासिक चर्चहरू जोखिममा देखिएका छन् । थप ५७ वटा स्थानलाई विनाशकारी रूपमा जमिन भासिने सम्भावित जोखिम पहिचान भएको छ ।
जमिनमा धाँजा फाट्नु नयाँ वा विचित्र घटना होइन । जब जमिनको सतहमुनि रहने खनिज पदार्थ विस्तारै आकाशबाट बर्सेर जमिनले सोस्ने पानीमा घुल्छन्, जमिनमा धाँजा फाट्ने र यस्ता खाडल तयार हुने समस्या आउँछ । तर, यस्ता डरलाग्दा घटनालाई जमिनमाथि मानवीय हस्तक्षेपले सामान्यझैँ बनाइदिएको छ ।
अवैध निर्माण, गहिराइसम्म पुगेर खनिज उत्खनन्, जथाभावी निर्माण र भत्काउने काम, फोहोर व्यवस्थापनमा लापरवाही र अधिक वर्षाका कारण मौसममा आएको परिवर्तनले जमिनमा खाडल पर्ने संख्यामा असामान्य वृद्धि भएको छ ।