साँझ ९ः३६ बजे। समयले रात परिपक्व बनाउदैछ। दरबारमार्गका सडकमा उज्याला बत्तीले वैँश निकाल्दैछन्। त्यहीबीच हामी हिँडिरहेका छौ मधुशालाको बत्ती खोज्दै.......
दरबारमार्ग पुगेपछि पाँच मिनेटमै भेटिन्छ- मधुशाला। मधुशालाको गेटमा एक मानिस उभिएका छन्, जो मधुशालामा आउने सबैलाई मुस्कान निर्यात गर्छन्।
मधुशालाभित्र सबैका आँखालाई मनपर्ने आणविक बत्तीहरु झुन्डिएका छन्। टाँसिकाएका छन्। भुईमा बसिरहेका छन्। टेबलमा आराम गरिरहेका छन्। चारैतिर चम्किरहेका छन्। जुन उज्यालोमा मानिसको बेजोड उपस्थिति छ। ती बत्तीबाट ठिक ४५ डिग्रीको दिशामा गायक उदय सोताङ र गायिका मनिला सोताङ गुञ्जिरहेका छन्:
उकाली चढौला, ओराली झरौला
सात भन्ज्याङ भनेपनि, त्यो पनि तरौला
तिम्रै लागि हुँ भने
ज्यान दिईदिँउला....
यो गीत सकिन्जेल हामी छेवैको सोफामा बसिसकेका छौ। मधुशालाका एक लगानीकर्ता जीवन चौलागाई त्यही थिए। उनलाई खबर गरेर हामीले गायक उदय सोताङसँग १० मिनेट माग्यौ। गायक उदयले पनि हाम्रो उपस्थिति र अनुरोध खुलेरै स्वागत गरे।
कुराकानीको क्रममा हामीले उदयलाई सोध्यौ, मधुशाला के हो?
उदयले जवाफ दिन्छन्, 'मधु भनेको पेय पदार्थ हो। शाला भनेको ठाउँ। पिय पदार्थ लिदै प्रत्यक्ष गीत सुनाएर, देखाएर मानिसलाई आनन्द दिन मधुशाला खोलिएको हो।'
उदय जब पहिलो पटक काठमाडौं आए, तब उनले एउटा रेडियोमा काम सुरु गरे। जहाँ काम गरेबापत उनी एउटा गीतको ५० पाउँथे। त्यसले जीविका चलाउन गाह्रो हुन्थ्यो। उनले व्यवसायिक तवरले रेष्टुराँमा गीत गाएरै सुरु गरे। पछिल्लो ८ वर्षदेखि उदय मधुशालामा गुञ्जिरहेका छन्।
भन्छन्, ‘रेष्टुराँमा काम गर्दा आर्थिक सहयोग हुन्छ। नयाँ–नयाँ मानिससँग भेटघाट हुन्छ। सम्बन्ध बढ्दै जान्छ। र सबैभन्दा ठूलो कुरा रियाज पनि भइरहन्छ।'
मधुशालामा सुन्दर पारिवारिक वातावरण छ। त्यसदिन बच्चादेखि बृद्धबृद्धाको समेत उपस्थिति देखिन्थ्यो। मधुशालामा पाकेका खाने परिकारको स्वाद फरक र मिठो थियो। सबैको मन जित्ने गीत गुञ्जिरहेको थियो। कुनै होहल्ला थिएन। वातावरण निकै रोमाञ्चक थियो।
उदयलाई कुनै स्टुडियो वा कुनै बाह्य ठाउँका साँस्कृतिक कार्यक्रममा भन्दा रेष्टुराँमा गाउदा बेग्लै आनन्द लाग्छ। ठाउँ जहाँ होस् तर गीत गाउदा सधै रमाइलो खुशी हुन्छ।
शान्तिपूर्ण वातावरण, फरक स्वादका आधुनिक खाने परिकार र पारिवारिक वातावरणले गर्दा ९० प्रतिशत ग्राहक दोहोर्याएर आउने गरेको सञ्चालक जीवन चौलागाईले बताए।