खाली पेट नखानुहोस्, यस्ता खाना !

Healthnewsnepal.com
Healthnewsnepal.com

बिहानको समय अर्थात् खाली पेटमा खाइने खानाले दिनको सुरुवात र दिनभरिको स्वास्थ्य झल्काउने गर्छ।
खाली पेटमा केही खानाको सेवनले एसिडको मात्रा धेरै बढाउने हुँदा बिहानको समयमा वा लामो समयको खाली पेटमा खाइने खानामा धेरै ध्यान पुर्‍याउनु पर्छ। त्यसैले खाली पेटमा जे पाए त्यहि खानु उचित हुँदैन। 

काँचो तरकारी वा सलाद खाली पेटमा खानु राम्रो हुँदैन। यसमा फाइबरको मात्रा धेरै हुने हुँदा खाली पेटमा थप भार पर्न सक्छ। खाली पेटमा काँचो तरकारी र सलादको सेवनले पेट दुख्न सक्छ।

धेरैजसो मानिस एक कप कफीको साथ दिन सुरू गर्ने गर्छन्। यो निद्राबाट ब्युँझिने सजिलो तरिका जस्तो देखिन्छ तर खाली पेटमा कफीको सेवनले एसिडिटी हुन सक्छ। यसले पाचन प्रणालीमा हाइड्रोक्लोरिक एसिडको स्रावलाई उत्तेजित गर्छ जुन ग्यास्ट्राइटिसको कारण बन्न सक्छ।

ठिक समयमा फलफूलको सेवन सधैँ स्वस्थ हुन्छ। खाली पेट अम्बक, सुन्तला लगायतका सिट्रस फलको सेवनले पेटमा एसिडको उत्पादन बढ्न सक्छ। खाली पेटमा धेरै फाइबर र फ्रुक्टोज भएको फलको सेवनले पाचन प्रणालीलाई सुस्त बनाउन सक्छ।

खाली पेटमा मसला र खोर्सानीको सेवनले पेट झिल्ली पोल्न सक्छ जसकारण अम्लीय प्रतिक्रिया र ऐंठन हुन सक्छ। यसले अपचको समस्या निम्त्याउन सक्छ।

खाली पेटमा चिसो कफी, आइस कफी लगायतका चिसो पेयको सेवनले पेटको झिल्लीमा क्षति पुर्‍याई पाचन प्रणालीमा समस्या ल्याउँछ।

हामीमध्ये धेरैको बिहान उठ्नेबित्तिकै खाली पेटमा जुसको सेवन गर्ने बानी हुनसक्छ। खाली पेटमा गुलियो खाना तथा पेयपदार्थमा फ्रुक्टोजको रूपमा हुने चिनीले प्यान्क्रियाज र कलेजोमा बढी भार बढाएर विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

कोकाकोला, फ्यान्टालगायतका कार्बोनेटेड पेय दिनको जुनसुकै समयमा सेवन गर्दा पनि हानिकारक हुन्छन् । तर, खाली पेटमा यसको सेवनले कार्बोनेटेड एसिड पेटको एसिडसँग मिसिने हुँदा यसले वाकवाकी हुने, ग्यास बढ्ने, पेट दुख्ने लगायतका विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ।


 

प्रकाशित मिति: : 2021-03-14 21:06:00

प्रतिकृया दिनुहोस्