सत्ता दौडमा कुद्दाकुद्दै निराश ‘ठाकुरजी’

आयोमेल

काठमाडाैं

धैर्यकान्त दत्त

‘मधेशको, आदिवासीका जुन समस्याहरू छन् त्यसको समाधान हाम्रो हातमा छैन। संसदमा पनि उहाँहरू हुनुहुन्छ, शासन–प्रशासन, अदालत र राष्ट्रियतामा पनि उहाँहरू नै हुनुहुन्छ। हाम्रो हातमा त केही पनि छैन,’ यस्तै निराशाका भाव पोखिरहेका थिए जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर।

शनिबार पेरिसडाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरूसँग छलफल गरेर तल झरेका जसपा अध्यक्ष ठाकुर खासै उत्साहित देखिएनन्।

प्रायः ‘रिजर्व’ भएर बस्ने ठाकुर पछिल्ला समय हरेक बैठक र छलफलपछि मिडियालाई ब्रिफिङ गर्न आफैं आउने गरेका छन्। 

पेरिसडाँडा बैठकपछि मिडियासामु आएका ठाकुरको अनुहारमा आशाभन्दा बढी निराशा देखिन्थ्यो। ‍

अधिकांश समय गम्भीरता साधेर बस्ने अध्यक्ष ठाकुरको स्वभाव हो। पार्टीकै नेता–कार्यकर्तासँग सा¥है खुलेर कुराकानी गर्दैनन्। एक वर्षअघि समाजवादी पार्टीसँग एकता हुँदै गर्दा ठाकुर बाहिर ज्यादै सक्रिय देखिएका थिएनन्। त्यतिबेला पनि मिडियासँग कुरा गर्नुपर्दा पार्टीका अन्य नेतालाई नै अघि सार्ने गरेका थिए।

पार्टीको छलफलमा पनि ज्यादै नबोल्ने उनको स्वभाव रहेको जसपाका नेताहरू बताउँछन्।

तर, पछिल्लो समय ठाकुर तुलनात्मक रूपमा ज्यादै सक्रिय र खुलेर बोल्न थालेका छन्, खासगरेर मिडियामाझ।

‍‍सर्वोच्चको पछिल्लो फैसलापछि एक्कासी सत्तासमीकरणको केन्द्र बनेको जसपाले सरकारी पार्टी नेकपा एमालेका साथै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रसँग निरन्तर छलफल गरिरहेको छ। 

केपी शर्मा ओली नेतृत्वको सरकार टिकाउन वा नयाँ सरकार गठन गर्न महत्वपूर्ण कडी बन्न सक्ने भनेर जसपा हौसिएको हुनुपर्दछ। त्यसैले नेकपा नाम विवादसम्बन्धी सर्वोच्चको फैसलापछि आफ्ना माग पूरा गराउन उसले सरकारका साथै अन्य दलहरूसँग वार्ता र छलफललाई गति दिएको छ।

प्रकाशित मिति: : 2021-03-14 17:19:00

प्रतिकृया दिनुहोस्