म्यान्मार 'कू': सुरक्षाकर्मीको गोली लागेर २४ घण्टामा ८ प्रदर्शनकारीको मृत्यु

निर्मल खराल

मोगोक - म्यान्मार
Photo : Myanmar Now
Photo : Myanmar Now

म्यान्मारमा सैन्य 'कू'विरुद्ध प्रदर्शनमा उत्रिएका स्वतन्त्र नागरिकमाथि सुरक्षाकर्मीले गोली चलाउँदा २४ घण्टामा ८ जना भन्दा बढीको मृत्यु भएको छ। 

पेयू शहरको सडक प्रदर्शनमा युवा ह्टेट म्याट आङ (१९)ले सेनाको गोलीबाट ज्यान गुमाएका छन्। उनी म्यान्मार मेरिटाइम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हुन्। शुक्रबार राति रंगुनमा सेनाले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको मृत्यु भएको स्थानीयले बताएका छन्।

माण्डलेको आन्दोलनमा सेनाले आक्रमण गर्दा भाग्दा-भाग्दैआङ प्याग ओ (१८), आङ आङ जोउ (४१) र सिथु (३७)ले ज्यान गुमाएका छन्। उनीहरुसँगै मुख्य शहर रंगुनमा समेत प्रदर्शनकारीहरूमाथि सैन्य शासकले गोली चलाएको स्थानीय मिडिया म्यान्मार नाउले जनाएको छ। गत माघ १९ गते बर्मेली सेनाले सत्ता हातमा लिएपछि देशभर नागरिक अवज्ञा जारी रहेको बर्मेली-नेपाली साहित्यकार तथा पत्रकार ज्ञानबहादुर बगाले थापाले जानकारी दिए।

सैन्य शासनपछि म्यान्माली जनता दिनहुँ सडकमा उत्रिएका छन्। प्रदर्शनका क्रममा अहिलेसम्म कम्तीमा ७० जना भन्दा बढीको ज्यान गुमाएका छन्। आन्दोलनमा घाइते भएका हजारौँ नागरिकको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सत्ताबाट हटाउने धम्की दिँदै जनविद्रोह गरिरहेको नागरिक आन्दोलनलाई सैन्य शासनले अन्धाधुन्ध गोली प्रहार गर्ने क्रम रोकेको छैन।

प्रकाशित मिति: : 2021-03-13 20:19:00

प्रतिकृया दिनुहोस्