म्यान्मार सैन्य शासनले रिहा गर्‍यो सयौं आन्दोलनकारी युवा

Photo - AP
Photo - AP

म्यान्मार 'जुन्ता सरकार' ले आन्दोलनको क्रममा पक्राउ परेका सयौं युवालाई हिरासत मुक्त गरेको छ।

देशको सबैभन्दा ठूलो शहर रंगुनमा कर्फ्यु अवज्ञा गर्ने हजारौं प्रदर्शनकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेका थिए। रंगुन प्रहरीले पक्राउ गरेका मध्ये सयौं युवालाई मात्रै रिहाई गरेको आन्दोलनकारीले बताएका छन्।

सेनाले सत्ता हातमा लिएर राजनीति 'कू' गरेसँगै म्यान्मारमा महिना दिनदेखि हिंसात्मक आन्दोलन जारी छ।

सैन्य नजरबन्दमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलगायतको रिहाई माग गर्दै दशौं हजार मानिस दिनहुँ सडक प्रदर्शनमा उत्रिएका छन्। 

जुन्ता सरकारविरूद्ध आन्दोलनमा उत्रिएका मानिसलाई सुरक्षाकर्मीले अन्धाधुन्ध गोली प्रहार गर्दा अहिलेसम्म ६० जनाभन्दा बढी बर्मेली नागरिकले ज्यान गुमाएका छन्। तीमध्ये २ हजारभन्दा बढी सैन्य हिरासतमा रहेका छन्। 

स्वतन्त्र मिडियामाथि कारवाही

सैन्य सरकार सूचना मन्त्रालयले पाँच बर्मेली मिडिया हाउस–सेभेन डे न्यूज, म्यान्मार नाउ, मिज्जिमा, डिभीबी र खित थीत मिडियाको प्रकाशन इजाजतपत्र रद्द गरेको छ।

सैन्य शासन लेख्दा आफूहरूलाई सरकारले त्राश देखाउने चेस्टा गरेको प्रकाशन संस्थाहरूको आरोप छ।

आफ्नो सत्तालाई 'सैनिक शासन' वा 'जुन्ता' शब्द नलेख्न म्यान्मार सेना प्रमुख जनरल मिन आंग ह्लाइङले मिडियालाई बारम्बार आग्रह गरेका छन्।

उनले भने, 'यदि कुनैपनि मिडियाले संवैधानिक सत्तालाई शासन र जुन्ता सरकार लेख्छ भने प्रकाशन इजाजतपत्र खारेज गरिनेछ।' सेनाको चेतावनीपछि पनि थ्रुपै मिडियाले 'शासक' र 'जुन्ता' शब्द नै बोलिरहेका छन्। र, लेखिरहेका छन्।

सेना प्रमुखले स्वतन्त्र मिडियामाथि आपत्तिजनक भाषा प्रयोग गरेको 'सेभेन डे न्यूज'का प्रकाशक–सम्पादकले बताएका छन्।

उक्त मिडियाले 'सैन्य शासक'को आदेशलाई उल्लंघन गर्ने चेतावनी दिएको छ। त्यस्तै, प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रताको हननप्रति 'डिभीबी'ले निन्दा व्यक्त गरेको छ।

मिज्जिमाका कार्यकारी सम्पादक यू सेन विनले सेनाको ज्यादतीविरूद्ध आफ्नो मिडिया दरोखरो भएर लाग्ने बताएका छन्।

सेनाले सोमबार मात्रै मिज्जिमाको समाचार कक्ष तोडफोड गरी उपकरणहरू नियन्त्रणमा लिएको छ। सोही दिन अर्को बर्मेली मिडिया म्यान्मार नाउको बन्द कार्यालयमा सैन्य सरकारका प्रतिनिधिले छापा पारे।

सुरक्षा बलले रंगुनस्थित 'काम्युत् मिडिया'को कार्यालयमा छापा पारेर सम्पादक र सह–सम्पादकलाई पक्राउ गरेको छ।

प्रकाशित मिति: : 2021-03-10 15:53:00

प्रतिकृया दिनुहोस्