उहिले घरजग्गा पास, अहिले भने उठिवास : माओवादी ‘जनयुद्ध’मा भएको किनबेचको किचलो अझै

राजधानी दैनिक

रुकुम पश्चिम

माओवादीले सशस्त्र द्वन्द्वका बेला आफ्नो क्षेत्रमा चलाएका जनसत्तामाथि विश्वास गरेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५, खारा, जिबाङका तिले कामीले २१ वर्षअघि माओवादी जनसरकारमा ‘रजिष्ट्रेशन पास’ गराएको घरजग्गामा उनका छोरा खड्क बहादुरले आफ्नो हकभोग स्थापित गर्न सकेका छैनन्। आठ वर्षदेखि उनको जग्गाको स्वामित्व विवादमा छ।

खड्क बहादुरका बाबुले २०५६ सालमा छिवा कुमारी घर्तीबाट ७ लाख रुपैयाँमा घर, गोठ र शौचालयसहित झण्डै ५ हजार वर्गमिटर (करिब १० रोपनी) जग्गा किनेका थिए। तर, अहिले जिल्ला मालपोत कार्यालयमा आफ्नो नाममा रजिष्ट्रेशन भएको घरजग्गा आफूले हकभोग गर्न पाउनुपर्छ भन्ने छिवा कुमारी घर्तीको दाबी छ।

आफ्ना बाबुले किनेको जग्गामा आफ्नो हकभोग हुनुपर्छ भन्ने तर्क खड्क बहादुर कामीको छ। एउटै घरको दायाँतिरको कोठामा छिवा कुमारीको बसोबास छ भने बायाँतिरको कोठामा खड्क बहादुरको।

वर्षे होस् वा हिउँदे, हरेक बाली लगाउँदा र भित्र्याउँदा उनीहरूबीच किचलो हुन्छ। कति पटक त कुटाकुट समेत हुने गरेको छ।

खड्क बहादुरका बाबुले सोही वडाको अलि माथिको पुर्ख्याैली घरजग्गा बेचेर छिवा कुमारीको जग्गा किनेका थिए। गहभरी आँशु पार्दै खड्क बहादुर भन्छन्, ‘मेरा बालाई उही वडामा किन बसाइ सर्न मन लागेको हो, त्यसमा पनि यही जग्गा किन किन्नुपरेको हो।’ खड्कबहादुरका बुबा तीन वर्षअघि बितेका हुन्।

प्रकाशित मिति: : 2021-03-09 16:19:00

प्रतिकृया दिनुहोस्