'महिला उद्यमीको यात्रा, चुनौती र अवसर' बारे वीरगञ्जमा चर्चा

१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा 'महिला उद्यमीको यात्रा – चुनौती र अवसर' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज अध्यायको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

सोमबार वीरगञ्जस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित अन्तरक्रियामा यस क्षेत्रका अग्रणी महिला उद्यमीहरुको सहभागिता रहेको थियो। अन्तरक्रियामा सहभागि महिला उद्यमीहरुले पुरुषहरुको सफलता पछाडी महिलाहरुको हात भएझैँ महिलाहरुको सफलता पछाडी पनि पुरुषहरुको हात रहेको बताएका थिए। उद्ययमशिलताको सुरुवातदेखि हालसम्म परिवारको साथ र सहयोग रहेका कारण आफुहरु यस मुकामसम्म पुगेको कार्यक्रममा सहभागि उद्यमीहरुले जिकिर गरे।

उद्यमी बन्नका लागि उद्यमीकै छोरा–छोरी हुनुपर्छ भन्ने अवस्थाको अन्त्य भएको भन्दै सहभागिहरुले कृषकका छोरा–छोरीहरु पनि सफल उद्यमीको रुपमा स्थापित भएको बताए।

फरक कार्यको सुरुवात गर्दा साथ दिनेहरुको कमी भएको अनुभव साझा गर्दै उद्यमीहरुले कसैले साथ नदिएपनि आफ्नो लक्ष्य प्रति सदैव दृढ भएर लागिपर्न सुझाव दिएका थिए। सुरुमा रोजगार खोज्दै हिँडेका आफूहरु हाल रोजगारी सृजना गरिरहेको भन्दै हर्ष व्यक्त गरे। वर्षको ३६५ दिनमा एक दिन मात्र महिलाहरुको सम्मान गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने सहभागिहरुले सुझाव दिएका थिए।

एनवाईईएफ वीरगञ्ज अध्यायका अध्यक्ष अनुप अग्रवालको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले महिला उद्यमीहरुको विकास र प्रवर्द्धनका लागि संघले हरेक सम्भव सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले उद्योग वाणिज्य संघले पछिल्लो समय ग्रामिण भेगका महिलाहरुको शिप विकास र रोजगारीका लागि विभिन्न किसिमको शिपमुलक तालिमहरुको आयोजना गर्दै आएको जानकारी समेत गराए।

अन्तरक्रियामा डेसिमल कलेजकी निर्देशक डा. सुष्मा तिवारी द्विवेदी, मित्रो क्याफेकी सञ्चालक शिल्पा अग्रवाल, नेशनल ईन्फोटेक कलेजकी निर्देशक काजल सिंह, एएनजेड बुटीककी सञ्चालक नुतन सरावगी, दि मोबाईल जोन तथा कलेज फोर म्यानेजमेन्टकी निर्देशक पवन दीप कौर, श्रीराम अस्पतालकी निर्देशक डा. प्रिती यादव, वीरगञ्ज हार्ट एण्ड सुपरस्पेश्यालिटी सेन्टरकी डा. मधु रौनियार, सन्तरा क्लिनीककी डा. क्रिती अग्रवा, फेमानईन ब्युटी पार्लरकी सञ्चालन गुड्डी जोशीलगायतकाले उद्यमशिलता आफ्नो अनुभव साझा गरेका थिए।

कार्यक्रममा एनवाईईएफका कार्यसमिति सदस्य विश्व प्रताप साहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन कार्यसमिति सदस्य पंकज अग्रवालले व्यक्त गरेका थिए।

आशु सर्राफले सञ्चालन गरेको अन्तरक्रियाको सहजीकरण विमला गुप्ताले गरेकी थिईन्।

प्रकाशित मिति: : 2021-03-08 20:46:00

प्रतिकृया दिनुहोस्