भुइँमा बसेर खाना खानु ठिक कि बेठिक ?

हिजोआज टेबुल कुर्सीमा बसेर खाना खाने चलन छ। तर, पहिलाका मानिसहरू खाना खानका लागि भुइँमा पलेँटी कसेर खाने गर्थे। 

टेबलकुर्सीमा बसेर खानुभन्दा भुइँमा पलेँटी कसेर खाना खाँदा स्वास्थ्यमा फाइदा पुग्ने देखिएको छ। 

भुइँमा बसेर खाना खानाले स्वास्थ्यमा धेरै सकारात्मक प्रभाव पार्नुका साथै धेरै रोगहरूबाट पनि सुरक्षित राख्ने गरेको अध्ययनले देखाएको छ। भुइँमा बसेर खाना खानु पनि योगासनको एक प्रकार हो। 

भुइँमा बसेर खाना खाँदा हामी एक खुट्टामाथि अर्को खुट्टा राखेर बस्छौँ, जुन सुखासन वा पद्मासनको मुद्रा हो। यी दुवै आसनहरूले एकाग्रता बढाउँछ। भुइँमा बसेर खानाले मानसिक तनाव पनि कम हुन्छ।

भुइँमा बसेर खाँदा खाना लिनका लागि केही अगाडि झुक्नुपर्ने तथा खानका लागि शरीरले पहिलेकै अवस्थामा फर्किनुपर्ने हुन्छ।

निरन्तर अगाडि–पछाडि हुने प्रक्रियाले पेटको मांसपेशीलाई निरन्तर क्रियाशील बनाइरहन्छ, जसका कारण पाचन प्रणालीमा सुधार भई खाना चाँडै पच्ने हुन्छ।

भुइँमा बसेर खाँदा शरीरको मुद्रा राम्रो हुन्छ, जसले शरीरको धेरै समस्या हटाउन सक्छ। यसले मांसपेशीहरू बलियो बनाउनुका साथै शरीरमा रक्त सञ्चार सुधार गर्छ।

भुइँमा बसेको मुद्राले मेरुदण्डको तल्लो भागमा जोड दिन्छ, जसले सासको गति नियन्त्रण गर्न, मांसपेशीको तनाव कम गर्नुका साथै रक्तचापलाई पनि कम गर्न मद्दत गर्छ। 

भुइँमा बसेर खानाले जोर्नी, घुँडा र खुट्टाको लचिलोपनलाई बढाउँछ। यस लचिलोपनले जोर्नीको दुखाइको समस्या हुनबाट जोगिन सक्छ। जसका कारण उठ्न र बस्न कुनै समस्या हुँदैन।

भुइँमा सही आसनमा बसेर खाना खानाले स्नायु तन्किने समस्या पनि हटाउँछ। यसले मुटुको वरपरको दबाबलाई पनि कम गरी मुटुलाई पनि बलियो बनाउँछ। 

मुटुको समस्या भएमा मानिसले खाना पकाउनु वा खानका लागि टेबल–कुर्सीमा बस्नुको सट्टा भुइँमा बस्नु उचित हुन्छ।

भुइँमा बसेर खाना खानाले तौल पनि सन्तुलित राख्न मद्दत गर्छ । भुइँमा बसेर खाँदा पाचन प्रणाली प्राकृतिक अवस्थामा हुन्छ। यसले पाचन रसलाई अझ राम्रो तरिकाले काम गर्न अनुमति दिन्छ। 

एकै साथ उनीहरूको स्राव पनि राम्रो प्रभाव पार्छ। साथै, बस्नु र उठ्नु पनि एक राम्रो व्यायाम हुने कारण भुइँमा बसेर खानाले तौल अनियन्त्रित हुँदैन।

प्रकाशित मिति: : 2021-03-08 12:28:00

प्रतिकृया दिनुहोस्