बेलायतको अक्सफर्ड विश्वविद्यालयमा गरेको अनुसन्धानअनुसार नियमित रूपमा मासुको सेवनले नौ प्रकारका रोगहरूको जोखिम निम्त्याउँछ।
दैनिक वा नियमित रूपमा मासु खाने मानिसमा मधुमेह, हृदय रोग, निमोनिया र अन्य धेरै गम्भीर रोगहरू हुनसक्ने जोखिम हुन्छ।
कुखुरालगायत अन्य पक्षी वा प्रशोधन गरिएको मासु हप्तामा तीन दिन खाने मानिस नौ प्रकारका रोगहरूको शिकार हुन सक्छन्।
पाँच लाख मानिसमा करिब आठ वर्षसम्म गरिएको अध्ययनमा मासु नखाने मानिसको तुलनामा नियमित तीन दिनभन्दा धेरै मासुको सेवन गर्ने मानिसको स्वास्थ्यमा धेरै नकारात्मक प्रभाव परेको देखाएको थियो।
अक्सफोर्ड विश्वविद्यालयको नफफिल्ड जनसङ्ख्या स्वास्थ्य विभागका डाक्टर करेन पेपियरका अनुसार दैनिक ७० ग्राम रातो मासु वा प्रशोधन गरिएको मासु खाने व्यक्तिमा मधुमेह हुने खतरा ३० प्रतिशत बढी हुन्छ।
यी व्यक्तिहरूमा मुटु रोग लाग्ने खतरा पनि १७ प्रतिशत बढी हुन्छ। त्यस्तै, ३० ग्राम कुखुराको मासुको सेवनले मधुमेहको जोखिम १४ प्रतिशत र ग्यास्ट्रोइसोफेगल रिफ्लेक्सको जोखिम १७ प्रतिशत बढ्ने हुन्छ।
रातो मासु वा प्रशोधन गरिएको मासुमा अधिक सन्तृप्त फ्याट्टी एसिड हुन्छन्, जसले शरीरमा कम घनत्वको लिपोप्रोटिनको मात्रा बढाउँछ। जसले शरीरमा खराब कोलेस्ट्रोलको मात्रालाई पनि बढाउँछ जसले धेरै गम्भीर हृदय रोगहरूको जोखिम बढाउँछ।
हप्तामा तीन दिनभन्दा धेरै मासुको सेवनले मधुमेह, हृदय रोग, निमोनियासहित ग्यास्ट्रिक, गल ब्लाडरसम्बन्धी रोग, कोलोन पोलिप, ग्यास्ट्रोइसोफेगल रिफ्लेक्स, डायवर्टिकुलर रोग, र ड्युडेनिटटिस लगायतका रोगको जोखिम उच्च हुन्छ।