मान्छेहरूको भिड।
एउटा भव्य महल।
महलको लन भनौँ वा चउर।
मान्छेहरू बिहानैदेखि भिडबद्ध।
बडाहाकिमको अझै तल सवारी भएको थिएन।
भर्खर त सात बज्यो।
उहाँ ६ बजेसम्म सुकुला हुनुहुन्थ्यो।
सात बजे पूजाकोठामा पस्नुहुन्थ्यो।
धार्मिक वाणीका अतिभन्दा अति मन्त्रहरू गुनगुनाउनुहुन्थ्यो, लगभग दुई घण्टा।
त्यसपछि मात्र चिया खानुहुन्थ्यो।
चियासँग खाजा होइन, पत्रपत्रिका हुनुपथ्र्यो।
राष्ट्रिय दैनिकदेखि लिएर अनेक पत्रिका पढेपछि मात्र तल लनमा ओर्लने गर्नुहुन्थ्यो, त्यो पनि आफ्नो इच्छानुसार।
कुनैकुनै पत्रिकामा कहिलेकाहीँ के हुन्थ्यो भने त्यस पत्रिकामा उहाँको बीपी हाई हुने गरी उहाँबारे न्युज मुद्रण भएका हुन्थे।
यस्तो अवस्थामा उहाँ तल ओर्लनुहुन्नथ्यो।
बरु माथि आफ्नो गोप्य कक्षमा पसेर हटलाइनबाट प्रहरी, विशेष प्रहरी, सेनामेना, अख्तियार आदि सबै ठाउँमा त्यस पत्रिकाबारे दोहोलो काढ्ने आज्ञार्थ कठोर वाणी सम्प्रेषण गर्नुहुन्थ्यो।
होइन, यदि पत्रिकामा उहाँबारे राम्रो कुरा वा उहाँँको अन्तर्वार्ता छापिएको भए उहाँ हर्षका अनेक गीत गुनगुनाउँदै तल आउनुहुन्थ्यो।