सबै नेपालीहरुलाई खोप दिन सरकारले प्रयास गरिरहेको छ: स्वास्थ्यमन्त्री त्रिपाठी

File photo
File photo

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पुर्‍याउने प्रयास भइरहेको बताएका छन्।

मन्त्रालयले आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सबै जनतालाई खोप उपलब्धता जटिल भएपनि विभिन्न माध्यमबाट खोप खरीद गरी पुर्‍याउने प्रयास भइरहेको बताए। “सबै देशले आफ्ना जनतालाई खोप लगाउँदैछन् । खोपको माग र उत्पादन अवस्था हेर्दा नेपाली सबैलाई खोप पुर्‍याउने जटिल छ”, उनले भने, “तर हामीले विभिन्न माध्यमबाट खोप ल्याएर सबै जनतालाई पुर्‍याउने प्रयासमा छौँ।”

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ। पहिलो चरणअन्तर्गत १.४ प्रतिशतलाई खोप प्रदान गरेको छ। मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिए। 

कोभ्याक्सको खोप भोलि आउँदै

स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोभ्याक्स संयन्त्रबाट प्राप्त हुने तीन लाख ४८ हजार खोप भोलि नेपाल आउन थालेको जानकारी दिए।

सरकारले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख खोप ल्याउने तयारी गरेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा कोभ्याक्समार्फत बर्मा, श्रीलङ्का र नेपालले मात्र खोप पाउने भएका छन्। 

यस्तै सचिव अर्यालले भारतको सेरम इन्स्टिच्युट कम्पनीसँग खरीद गरेको खोप पनि एक हप्ताभित्र आउने बताए। उनले भोलिदेखि शुरु हुने खोप १५ हिमाली जिल्लाका ५५ वर्षभन्दा माथि र बाँकी अन्य जिल्लाका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइने बताए। रासस

प्रकाशित मिति: : 2021-03-06 17:13:00

प्रतिकृया दिनुहोस्