गजेन्द्र बाेहरा
जानकीको आँगन। जनकपुरमा घाम छिप्पिदैँ थियो। मिथिला चित्र कोरिएका केही टेन्टहरूले अलिअलि घाम छेकिरहेका थिए।
अघि मञ्चमा थिइन आधा शरीर जलेकी। दाहिने आँखा नभएकी। एसिडले जलेको एउटा अनुहार– आरती साह। सँगै थिइन्– हिरोइन सञ्चिता लुइँटेल।
जनकपुर साहित्य महोत्सवको यो दोस्रो दिनको तेस्रो सेसन थियो– समाज : सौन्दर्य भित्र र सौन्दर्य बाहिर। सुन्दरताको त्यो परिभाषालाई फ्रेममा बाँध्न छेउमा थिए– उज्ज्वलविक्रम थापा।
र, यो मञ्चको खोजी थियो सुन्दरताको परिभाषा। त्यो सञ्चिताको अनुहारमा पनि थियो, जलेर ‘कुरुप’ भएको आरतीको अनुहारमा पनि।
तर, समाजले के हेर्छ?
देखिने सुन्दरता। हेरिने सुन्दरता। यो बीचको भिन्नतालाई सीताको आँगनमा बसेर आरती र सञ्चिता र उज्ज्वलहरू खोज्दै थिए। बहस गर्दै थिए।
एसिडले जलेकी आरती
गत कार्तिक २९ गते। लक्ष्मी पूजाको दिन थियो। घरघरमा दियोहरू उज्यालिइरहेका थिए।
जनकपुरधाम बजार छेउमा एउटा सानो घरभित्र श्रीमानले एसिड छ्यापिदिए।
उता दियोहरू बल्दै थिए। एसिडका छिटा लागेर यता एउटा ‘आरती’ निभ्यो।
धन्न उनी ढोकाको एउटा पल्लाले छेकिइन्। नत्र उनको सारा शरीर अहिले कहाँ रहन्थ्यो र! आँखादेखि जिउको दाहिनेतिर सबै जल्यो। काखमा च्यापिएकी ३ वर्षकी छोरी आरतीले बचाइन्।
उनलाई कीर्तिपुर पठाइयो। आधा जलेकी आरती ४५ दिनसम्म अस्पतालमा बेहोसै परिन्। मुखमा औषधिबाहेक केही गएन।
धन्न उनी बाँचिन्। कैयौं कोसिस गर्दा पनि दाहिने आँखा भने बचाउन सकिएन।