बाजागाजा घन्काइएको छ। मानिसहरु बाजातालमा नाचगानमा व्यस्त छन्। जिल्लाका ठाउँ ठाउँका मानिस यहाँ जम्मा भएका छन्।
सयौँ मानिसले हर्षोल्लास मनाइरहेका बेला ९३ वर्षीया उडिमा कमिनि र ९६ वर्षीय दलबहादुर गर्वुजाको हातमा कैँची थमाइयो। मोटर बाटोको छेवैमा सिंगारिएको गेटमा रातो रिबन काट्न उडिमा र दलबहादुरको हातमा कैँची दिइएको हो।
रघुगङ्गा गाउँपालिका–४ दर्मिजामा आयोजित भव्य समारोहबीच ज्येष्ठ नागरिकको तर्फबाट दुबै जनाले संयुक्त रुपमा रिबन काटेर सडकको उद्घाटन गरे। उनीहरुले रिबन काट्नासाथ यता कार्यक्रममा उपस्थित सबैले परर ताली बजाएर त्यस कार्यको स्वागत गरे।
गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला कुइनेमङ्गले सडकखण्ड अन्तर्गत रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक यसै वर्ष मात्रै गाउँपालिका, जलविद्युत् निर्माण गर्ने तुँदी पावर र संयुक्त ऊर्जा कम्पनीको साझेदारीमा विष्फोटक पदार्थको सहायताले ट्र्याक निर्माण गरिएको छ।
सडकको ट्र्याक निर्माण भएर नियमित रुपमा सवारी वारपार गर्न थालेसँगै भव्य समारोह आयोजना गरी बाजागाजासहित यही फागुन १७ गते सडकको उद्घाटन गरिएको हो। सडक उद्घाटनका लागि आयोजना गरिएको समारोह पनि भव्य थियो।
सडक निर्मित अन्य संरचनाको उद्घाटनमा मन्त्री, सांसद र नेताहरुकै दौडधुप हुने गर्दछ। देशव्यापी रुपमा यस्तो प्रचलन रहेका बेला सडक उद्घाटनमा रघुगङ्गाले यो नयाँ प्रयोग गरेको हो। गाउँपालिकाकै गौरवको आयोजनाको रुपमा सम्पन्न भएको यस योजनाको उद्घाटनमा मन्त्रीदेखि नेतासम्म कसलाई लैजाने भन्ने लामै चर्चा चलेको थियो।
तर गाउँपालिकाले सडक योजनाको प्रत्यक्ष लाभान्वित वडाका ज्येष्ठ नागरिकको हातबाट सडकको औपचारिक उद्घाटन गर्ने निर्णय लियो। रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेकी दलित समुदायकी ज्येष्ठ नागरिक उडिमा र वडा नं ४ दर्मिजाका जनजाती ज्येष्ठ नागरिक दलबहादुरले रिबन काटेर सडकको उद्घाटन गरे। रासस