निजी खर्चमा जन्मथलोको उन्नतिमा लागेका सुन्दर

कतिपयले आफूले गरेको विकासलाई देखाएर चुनाव जित्छन् अनि कतिपय चाँहि विकास गर्ने वाचा गरेर जनप्रतिनिधि बन्छन्।

विकासको बहाना बनाएर चुनाव जितेपछि आफ्ना प्रतिबद्धतातिर फर्किएर नहेर्नु पनि आम प्रवृत्ति हो। तर मोरङको उर्लाबारी–९ का सुन्दर श्रेष्ठ त्यस्ता अपवाद हुन् जो निश्वार्थ निजी खर्चमा गाउँको उन्नतिमा क्रियाशील छन्।

उनी त्यस्ता पात्र हुन्, जो न चुनाव लड्छन् न कुनै लालच नै राख्छन्। उनी विकास र गाउँको उन्नति–प्रगतिका लागि समर्पित छन्।

कहिले सडक बत्ती जडान गर्न लागिपरेका हुन्छन् त कहिले विद्यालयमा सहयोग गर्न। कहिले खेलकुद प्रतियोगितामा सहायता गर्छन् त कहिले बाटोघाटोको निर्माणमा योगदान पुर्‍याउँछन्।

सुन्दर युवा व्यवसायी हुन्। उनीसँग कुनै व्यक्तिगत आकांक्षा छैन।



कर‌ार‌मै‌ काम गर्छन् सडक मजदुर‌


कपाल काटेर लखपति बने उर्लाबारीका पवन


चुनावका बेला 'यो गर्छु, त्यो गर्छु' भनेर वाचा गर्नेका लागि उनले गरेका कामले चुनौती थपिदिएको छ। चन्दा मागेर समाजसेवी देखिने सामाजिक अभियन्ताका अगाडि पनि उनी अलग उदाहरण हुन्।

इच्छाशक्ति र सहयोगी मन भएका व्यक्ति हुन्– सुन्दर। जसले आफ्नै खर्चमा गाउँको उन्नति गर्न क्रियाशील छन् उनी। यो यात्रामा सकुञ्जेल अघि बढिरहने सोच छ, उनको।

सुन्दरले भने, ‘सकुञ्जेल गाउँको विकासमा लाग्ने हो, नसकेका दिन एक थोक पक्कै हुन्छ। हामीले राम्रो जग बसाउन सक्यौं भने गाउँको मुहार फेरिनेछ।’

सकारात्मक भावनाका साथ सहयोगको अपेक्षा गरेर आउनेलाई उनले रित्तो हात फर्काउँदैनन्। उर्लाबारी– ९ को प्रभात निम्न मावि र सार्वजनिक माविमा उनले मञ्च निर्माण र विद्यालय भवनमा रङ्गरोगन समेत गरिदिएका छन्।

उर्लाबारी–९ को राजघाट निमाविको गेट निर्माण उनले गरिदिएका छन्। गाउँका सडकका पोलमा सडकबत्ति जडान गरिदिएपछि रातको समयमा समेत हिँडडुल गर्नुपर्नेका लागि सहज भएको छ।

सुन्दरकै निजी खर्चमा प्रभात निमाविमा १० जना विद्यार्थीले छात्रबृत्ति पाएका छन्। जसअनुरुप सुन्दरले उनीहरुलाई चाहिने विद्यालयको पोसाक, जुत्ता ,झोला, शुल्क, स्टेसनरी सबै उपलब्ध गराउँछन्।

उनले आफ्नै लगानीमा गाउँसम्म बाटो खोलिदिएपछि अहिले कोही बिरामी परे भने बोकेर लैजानुपर्ने बाध्यता हटेको छ। घरको आँगनसम्मै एम्बुलेन्स पुग्छ।

उनी आफ्नै विगतको प्रेरणाले समाजसेवातर्फ लाग्न प्रेरित भएका हुन्। घरमा हातमुख जोर्न धौ–धौ परेपछि २०४९ सालमा किशोर अवस्थामै उनी काठमाडौं हानिएका थिए।

सुरुमा काठमाडौं पुगेर उनले दैनिक ४० रुपैयाँ पारिश्रमिकमा ज्यालामजदुरी पनि गरे। निर्माण क्षेत्रमा ज्यालामजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि मात्रै उनको जीवनस्तरमा परिवर्तन आयो।

परालको छाना र सण्ठीको बाराभएको झुप्रो घरमा हुर्किएका श्रेष्ठको वाल्य अवस्था अभावमै बित्यो। तीन दाजुभाइमध्ये कान्छा उनले राम्रो पढ्न पनि पाएनन्।

पढाइ बिग्रिएपछि एसएलसी दिएर उनी काठमाडौं हिँडेका थिए। काठमाडौंमा गरेको कमाइले उनले पराल र सन्ठीको घर भएको ठाउँमा काठको घर हुँदै पक्की घर बनाए। उनी अहिले काठमाडौंमा निर्माण र हाउजिङ्ग व्यवसाय गरिरहेका छन्।

आफ्नो व्यवसायबाट आएको पैसा नै गाउँको विकासमा लगानी गर्दै आएका छन्। उनको सोच भावी सन्ततिले दुःख भोग्न नपरोस् भन्ने नै हो।

पैसा कमाएपछि मान्छे शहर पस्नु र आफ्नो गाउँठाउँलाई बिर्सिनु आम प्रवृत्ति हो। काठमाडौंको टिकाथलीमा बस्दै आएका सुन्दर काठमाडौंमा कडा परिश्रम गर्छन्, अनि त्यसको प्रतिफलको केही हिस्सा गाउँको विकासमा खर्चिन्छन्।

'गाउँको पीडामा सक्दा मल्हम पट्टी लगाउने प्रयास हो मेरो', सुन्दरले भने, ‘इच्छा शक्तिका साथै सबै लागिपर्ने हो भने समृद्धि खोज्न अन्यत्र भौंतारिनु पर्दैन।’

 उनले आफ्नो गाउँमै बसेर केही गर्ने योजना बनाएको बताए। 

प्रकाशित मिति: : 2021-03-03 17:21:00

प्रतिकृया दिनुहोस्